मकवानपुरमा प्रहरीमाथि आक्रमण

साझाकुरा
२०८२ फाल्गुन २९, शुक्रबार १३:०७

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना गोली लागेर घाइते भएका छन् ।बुधबार राति लागूऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचनापछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरीटोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीकाअनुसार घटनास्थलमा रहेका व्यक्तिसँग सोधपुछ गर्ने क्रममा उनीहरुले अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी सहायक निरीक्षक तामाङका दुवै हातमा चोट लागेर घाइते भएका छन् ।

प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली चलाएका थिए । यसक्रममा हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडाका करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते प्रहरी तथा गोली लागेका तितुङलाई उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीको कमाण्डमा खटिएको थप प्रहरीटोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ परेका दुईजना तथा गोली लागेर घाइते तितुङ विगतमा लागूऔषध, ज्यानमार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*