पोखरामा नेपाल जेसीजको काउन्सिलर एकेडेमी
हेटौंडा-नेपाल जेसीजको आयोजनामा वर्ष सन् २०२६ को काउन्सिलर एकेडेमी शाखा अध्यक्षको भेला पोखरामा सम्पन्न भएको छ । पोखरा जेसीजको आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको अध्यक्षता रहेको थियो । एकेडेमीमा देशभरका १६७ शाखाबाट अध्यक्षहरु तथा सन् २०२६ का राष्ट्रिय पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी युवालाई अध्यक्ष कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ र आफ्नो नेतृत्व अवधारणालाई व्यवहारमा रुपान्तरण गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा सफलता हासिल गर्न प्रेरित गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले युवालाई सही नेतृत्व गर्दै समाज रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराम लमिछाने, मोती तिमिल्सिनालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकमाराजबाबु शाह, विकलप्रसाद शेरचन, तीर्थ पौडेल, किरण केसी तथा महेश्वर गिरी रहेका थिए । एकेडेमीअन्तर्गत नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि तथा सञ्जाल विस्तारसँग सम्बन्धित विविध सत्र सञ्चालन गरिएका थिए । सहभागीलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गर्नुका साथै ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत संकल्प पुरस्कार वितरण गरिएको थियो । समग्रमा, एकेडेमीले युवामा नेतृत्व क्षमता अभिवृद्धि, आपसी समन्वय र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।







