पाथीभरा मन्दिरमा एकमहिने अखण्ड सहर्ष चण्डी महायज्ञ जारी

साझाकुरा
२०८२ चैत्र १०, मंगलवार ११:३९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिरमा अखण्ड सहर्ष चण्डी महायज्ञ सञ्चालन भइरहेको छ । फागुन १२ गतेदेखि सुरु भएको महायज्ञ आगामी चैत्र १३ गतेसम्म निरन्तर जारी रहने आयोजकले जनाएका छन् । महायज्ञको अन्तिम दिन विशेषरुपमा महामाया भगवती आमाको पूजाअर्चना गरिनेछ । नेपाली सेना र नेपाल प्रहरीद्वारा ब्यान्ड बाजासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको पीठाधीश देवदासले बताए । महायज्ञ अवधिभर भक्तजनको स्वस्फूर्त सहयोगले व्यवस्थापनकार्य सहज भएको उनले बताए । भक्तिले अर्पण गरिएको सहयोग नै सबैभन्दा अपूर्व हुने उनको भनाई छ । पाथीभरा लगायतका विभिन्न धार्मिकस्थल समेटिएको पुस्तक छिट्टै प्रकाशन गरी भक्तजनलाई उपलब्ध गराउने तयारी गरिएको उनले बताए ।

धार्मिकअनुष्ठानकै लागि हेटौंडा आइपुगेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले सहर्ष चण्डी पाठ दिनरात निरन्तर अखण्डरुपमा गरिने भएकाले यसको विशेष धार्मिक महत्व रहेको बताए । यस्तो महायज्ञले आध्यात्मिक ऊर्जा वृद्धिगर्नुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । पाथीभरा मन्दिर मकवानपुर मात्र नभई देशकै महत्वपूर्ण धार्मिक गन्तव्यकारुपमा विकसित हुँदै गएको उनले बताए । ताप्लेजुङस्थित पाथीभरादेवी मन्दिर पुग्न नसक्ने भक्तजनलाई सहज दर्शनको व्यवस्था गर्ने उद्देश्यले यहाँ पनि मन्दिर स्थापना गरिएको हो । वि.सं. २०६३ चैत्र २२ गते ताप्लेजुङबाट माताको प्रतिमास्वरुप एकशिला, एकत्रिशूल र एककलश ल्याई वि.सं. २०६४ वैशाख १ गते भैरबडाँडामा मन्दिर स्थापना गरिएको थियो ।

हेटौंडा बजारको बुद्धचोक बाट करिब २ किलोमिटर दूरीमा रहेको मन्दिर परिसरबाट हेटौंडा सहरको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । भैरबडाँडामा रहेको भ्यु टावरबाट राप्तीखोला, आसपासका जंगल र पहाडदेखि तराईसम्मको दृश्य एकै ठाउँबाट हेर्न सकिन्छ । विशेषगरी चैत्र र असोजको नवरात्र, दशैं, शनिबार र मंगलबारका दिन भक्तजनको भीड बढी हुने गरेको बताइएको छ । मन्दिरमा वेदपाठ, गायत्री पुरश्चरण, नवदेवी भागवत, सहर्षचण्डी पाठ तथा कोटीहोम जस्ता धार्मिक अनुष्ठानहरु हुँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*