वन डढेलो जोखिममा मकवानपुर देशकै १८ औँ स्थानमा

प्रत्येक सामुदायिक वनमा २ जना वन हेरालु परिचालन
साझाकुरा
२०८२ चैत्र ११, बुधबार ११:२१

हेटौंडा- मकवानपुरमा वन डढेलोको घटना यसवर्ष उल्लेखनीयरुपमा घटेको देखिएको छ । २०८१ फागुनदेखि २०८२ जेठसम्म ५ सय ७४ दशमलव २५ हेक्टर वनक्षेत्र डढेलोबाट प्रभावित भएको थियो । यो अवधिमा डढेलोका कारण १ सय २ वटा रुख, १ हजार एक सय ३७ खम्बा, १० हजार दुई सय ९९ लाथ्रा तथा १ लाख ३५ हजार ६२ वटा बिरुवामा क्षति पुगेको तथ्यांक मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस आर्थिक वर्षको चैत महिनामा मात्रै वन डढेलो लागेको थियो । चैत्र महिनामा ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । मकवानपुर जिल्ला देशका ७७ जिल्लामध्ये वन डढेलोको उच्चजोखिममा पर्ने १८ औं स्थानमा रहेको बताइएको छ ।

यसअवधीमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । पानीपोखरी तथा सिमसार व्यवस्थापन अन्तर्गत २१ स्थानमा नयाँ पोखरी निर्माण भइरहेको छ भने २ सय २५ हेक्टर वनक्षेत्रमा थिनिङ (पत्ल्याउने) कार्य सम्पन्न भइसकेको छ । यसैगरी ३८ हेक्टर बिग्रिएको वनक्षेत्रको पुनरुत्पादन कार्य अगाडि बढाइएको छ भने ५ सय हेक्टरभन्दा बढी क्षेत्रमा झाडी सरसफाइ तथा मिचाहा प्रजाति नियन्त्रण गरिएको छ । वन डढेलो नियन्त्रणका लागि ३७ दशमलव १ किलोमिटर पुरानो अग्निरेखा सरसफाइका साथै ४ किलोमिटर नयाँ अग्निरेखा निर्माणकार्य गरिएको छ ।

डिभिजन वन कार्यालय मार्फत् १० वटा र सामुदायिक वन उपभोक्ता समितिमार्फत् ५ वटागरी १५ वटा पात फुक्ने मेसिन प्रयोगमा ल्याई सुकेका पात व्यवस्थापन गरिएको छ । कार्यालयकाअनुसार डढेलोको सूचना प्राप्त भएको १०–१५ मिनेटभित्रै परिचालन हुने अग्निनियन्त्रण टोली तयारी अवस्थामा राखिएको छ भने सम्बन्धित निकायको समन्वयमा २ देखि ३ घण्टाभित्र डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ । यसैबीच, २०८२ फागुनदेखि २०८३ जेठसम्म प्रत्येक सामुदायिक वनमा कम्तिमा २ जना वनहेरालु परिचालनगरिएको छ । संघीय वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि ५ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ ।

चैत्र १ देखि ७ गतेसम्म भएको वन डढेलो व्यवस्थापन अन्तर्गत ८ वटै सबडिभिजन वन कार्यालयमार्फत सचेतनामूलक ¥याली, विद्यालय कार्यक्रम, माइकिङ, नियन्त्रित डढेलो अभ्यासलगायत कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वनप्रमुख राकेशकुमार चन्द्रवंशीले जानकारी दिएका छन् । कार्यक्रममा वनअधिकृत हेमकुमार पाठकले आफ्नो प्रस्तुतीमार्फत वन डढेलो नियन्त्रणका लागि यसअघि गरिएका प्रयास र आगामी दिनमा अपनाइने रणनीतिबारे धारणा राखेका थिए । वनक्षेत्रमा डढेलो लाग्नुका प्रमुख कारण मानवीय लापरबाही, अव्यवस्थित घाँसदाउरा संकलन, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमीय प्रभाव रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न समुदायस्तरबाटै सजगता आवश्यक रहेको बताएका छन् ।

वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षानिकाय, सामुदायिक वन समूह तथा सर्वसाधारण बीच सहकार्य अझै मजबुत बनाउनु पर्नेमा जोड दिइएको छ । डिभिजन वन कार्यालयले यसवर्ष हालसम्म विगतका वर्षमा जस्तो ठूलो क्षति हुनेगरी वन डढेलोका घटना नदेखिएको दाबी गरेको छ । यसलाई प्रारम्भिक चरणदेखि नै गरिएको पूर्वतयारी, जनचेतना अभिवृद्धि र निगरानी प्रणालीको प्रभावका रुपमा लिइएको छ । आगामी दिनमा तापक्रम बढ्दै जाने र सुख्खा मौसम लम्बिँदै जाने भएकाले डढेलोको जोखिम अझै उच्च रहने भन्दै कार्यालयले थप सतर्कता अपनाउने जनाएको छ । यसका लागि वनक्षेत्रमा नियमित गस्ती, अग्निरेखा निर्माण, द्रुत उद्दार टोली तयारी तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइने पाठकले जानकारी दिए ।मकवानपुरमा २५ वर्षको अवधिमा सबैभन्दा बढी २०१३ मा १२ हजार दुई सय २१ दशमलव ३ हेक्टर वनक्षेत्र नोक्सान भएको थियो भने २०२१ मा ६ हजार ९ सय ७९ दशमलव ९ हेक्टर वनक्षेत्र डढेलोका कारण नोक्सान भएको डिभिजन वनप्रमुख चन्द्रवंशीले जानकारी दिए । तथ्यांकअनुसार बागमती गाउपालिका र बकैया गाउँपालिका वनक्षेत्र डढेलोको उच्चजोखिममा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*