प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले लिए शपथ
हेटौंडा- प्रतिनिधिसभाका ज्येष्ठसदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरुलगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीको सहभागिता रहेको थियो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।राष्ट्रपति पौडेलबाट शपथ लिएका केसीले ज्येष्ठसदस्यको हैसियतले आज बिहीबार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम तय भएको छ । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभामा ज्येष्ठसदस्यले नै बैठकको अध्यक्षता गर्ने प्रावधान छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना गरी जम्मा २ सय ७५ जना सांसदहरु निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
संसद सचिवालयले आज बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहणको लागि हल व्यवस्थापनको भौतिककार्य सम्पन्न गरेको छ । प्रतिनिधिसभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसके पछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । उनका अनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिकपक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूराहुने उनको भनाइ छ । दुईवटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ ।
उनले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिए । उनले शपथ कार्यक्रम हुनुभन्दा केही घण्टा अघिसम्म व्यवस्थापनको कार्यहरु जारी रहने बताएका छन् । प्रवक्ता गिरीले हाल तयार गरिएको हलको सेटअप पूर्णरुपमा आपतकालीन प्रकृतिको भएको बताए । उनले कार्यव्यवस्था महाशाखा बहुउद्देश्यीय हलको पछाडि रहेको सानो कोठाबाट सञ्चालन हुने जानकारी दिए । कार्यपरामर्श व्यवस्थापन समितिको हल पनि बहुउद्देश्यीय हलकै परिसरमा रहेको हलमा तयार पारिँदैछ । सभामुखका लागि हल पछाडितर्फ छुट्टै कोठा व्यवस्थापन गरिएको उनले बताए । हलकोकरिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाउन लागिएको छ । उनले यहाँ व्यवस्थित सेवा उपलब्ध नरहेको स्पष्ट पारेका छन् । यसपटक २४ जना प्रतिनिधिसभा सदस्यले मातृभाषामा शपथ लिँदैछन् । शपथपछिको अतिरिक्त समयमा हललाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए । स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधि सभाका बैठक यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन् ।
संसद सभाकक्षको निर्माणकार्य जारी रहेपनि कहिलेसम्म तयार हुन्छ भन्नेबारे यकिन नभएको प्रवक्ता गिरीले बताए । प्रतिनिधि सभाको पहिलो अधिवेशन नै बहुउद्देश्यीय हलबाट हुने अवस्था रहेको संसद सचिवालयको भनाइछ । सीमित स्थानका कारण संसदको सभाकक्ष साँघुरो रहेको संसद सचिवालय बताउँछ । संसदको वेल सानो बनाइएको छ भने रोष्टम, सभामुखको कुर्सी र सचिवालय बस्ने स्थान समेत साना र न्युनतम मापदण्डमा सीमित गरिएको छ । नयाँ संसद नबनेसम्म यसैमा कार्यसम्पादन गर्नुपर्ने बाध्याता रहेको उनले बताए ।संसद सचिवालयले सरकारलाई संसद भवन निर्माण समयमै गर्नको लागि पटकपटक ताकेता गर्दापनि चासो नदेखाएको उनको भनाई छ । उनले सरकारलाई निर्माणाधीन १२ वटै भवन यथाशीघ्र सम्पन्न गरी उपलब्ध गराउन आग्रह गरे । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी र तोडफोड हुँदा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बैठक सञ्चालनका लागि उपयुक्त छैन । सरकारले चैतको पहिलो साताभित्र सभाकक्ष उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि सम्भव नभएपछि सचिवालयले बहुउद्देश्यीय हलमै संसद सञ्चालन गर्न बाध्य भएको प्रवक्ता गिरीले जानकारी दिए ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरी २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो । तर, २०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद भवन निर्माणको लागि पाँचौपटक थपिएको म्याद पनि सकिइसकेको छ । संसद भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर– बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा लिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।







