हेटौंडाको पाथीभरा मन्दिर बेहुलीझैं सिँगारियो
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१ भैरबडाँडामा रहेको चर्चित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर बेहुलीझंै सिंगारिएको छ । आज बिहीबार हुने नवरात्रको अवसरमा महाअष्ठमी पूजाको लागि पाथीभरा मन्दिर बेहुलीझैं सिंगारिएको हो । पाथीभरा मन्दिर संरक्षण समितिले हरेकवर्ष आयोजना गर्ने पाथीभरा महोत्सवको मुख्य आकर्षकको रुपमा महाअष्ठमी पूजाको तयारी पूरा गरेको छ । विशेषतः चैत्र १२ गते बिहान ७ः०० बजेबाट सुरुहुने मुख्य पूजामा विभिन्न झाँकी बाजागाजा, नेपाली सेना तथा नेपाल प्रहरीको सलामीसहितको विशेष कार्यक्रम तय गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष केशवप्रसाद देवकोटाले जानकारी दिए ।१९ औं पाथीभरा महोत्सवको तयारी गरिरहेको मन्दिर संरक्षण समितिले यसवर्ष माताको धाममा आकाशबाट पुष्पवृष्टी गर्ने तयारी गरेको अध्यक्ष देवकोटाले जानकारी दिए ।
यस्तै सहश्रचण्डी महायज्ञको समापन आउँदो आइतबार हुने मन्दिर संरक्षण समितिले जनाएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको पाथीभरा देवीको दर्शन गर्नाले आँटेका र चिताएका सबै मनोकामना पूरा हुने विश्वासका साथ आन्तरिक तथा बाह्य भक्तजन पूजापाठ गर्न घुइँचो लाग्ने गर्दछ । तप्लेजुङस्थित पाथीभरा माताको मन्दिरमा सबैजना पुग्न असम्भव रहेकाले ताप्लेजुङ पुग्न नसक्ने भक्तजनले यहींको मन्दिरमा दर्शन गर्दा मनोकामना पूराहुने धार्मिक विश्वास रहेको छ ।







