उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न
हेटौंडा- मधेशको प्राचीन मिथिलाक्षेत्रमा बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको वासन्ती छठपर्व ब्रतालुले सम्पन्न गरेका छन् । मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका ब्रतालुले बधुबार बिहान सूर्योदयसँगै दोस्रो अर्घ दिएर पर्व सम्पन्न गरेका हुन् । मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्तऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चैत शुक्लपक्षमा मनाइने हुँदा आमबोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिएको बर्दिबास–१४ हटियाका ७५ वर्षीय रामअयोध्या साह बताउछन् । चारदिने यो पर्व चैत शुक्लचौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ ।
यसपालि गत आइतबार चैत शुक्लचतुर्थी (चौथी)का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन ब्रतालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए । यसैगरी मंलबार षष्ठीतिथिको निराहार व्रत बसेर ब्रतालुले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका थिए । यो पहिलो अघ्र्यलाई यहाँ सझुका अरख भन्ने गरिएको छ । त्यसैगरी बुधबार उदाउँदो सूर्यलाई दिइने अर्घको विधिलाई भोरका अरख वा पारन भनिन्छ । पर्वको पहिलोदिन स्नान गरेर चोखोनीतो खाने चलन छ । यसदिन व्रतमा अपवित्र मानिने लसुन, प्याज र कोदोसहितका खाद्यपदार्थ प्रयोग गरिन्नन् । अरवा चामलको भात खाइने हुँदा यसदिनलाई ‘अर्बाअर्बाइन’ भनिन्छ । यसैगरी दोस्रो अर्थात्खरनाका दिन दिनभरि उपवास रही राति सख्खर हालेर पकाइएकोखिर इष्टदेवलाई चढाएर ब्रतालुले खान्छन् । यो प्रसाद खाएपछिनिराहार व्रत प्रारम्भ हुन्छ । षष्ठीतिथिका दिन निराहार व्रत बसी साँझ पवित्र जलासयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने परम्परा छ । यसक्रममा फलफूल र ठेकुवा (गहुँको पीठोबाट बनाइएको परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला हातमा उठाएर सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा डुबेर सूर्यलाई अर्घ दिने परम्परा छ ।
चौथो अर्थात् सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यिनै प्रसाद देखाएर अर्घ दिई ब्रतालुले व्रत समापन गर्नेछन् । शरद् र वसन्त ऋतु गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य र सूर्यपत्नी षष्ठीको उपासनाको पर्व मानिन्छ । शरद् ऋतुमा कात्तिकशुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैतशुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । यो व्रतका प्रभावले हरेक मनोकांक्षा पूराहुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापरयुगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका र सति अनसुइयाले सूर्य उपासना गरेको जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग नलाग्ने जनविश्वास पनि छ ।







