कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

साझाकुरा
२०८२ चैत्र १२, बिहीबार १४:४७

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकास्थित कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

बिहान करिब २ः५० बजे ट्रक सडकनजिकै रहेको स्थानीय ओमानसिंह तितुङको खाली घरमा ठक्कर खाई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक पुस्कर बोगटीले जानकारी दिएका छन् ।दुर्घटनामा ट्रकचालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*