८ महिनामा सडक दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाए
हेटौंडा- मकवानपुरमा चालु आर्थिक वर्षको ८ महिनामा सडक दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका छन् । साउनयता फागुन महिनासम्मको ८ महिनाको अवधिमा मकवानपुरमा भएका २ स ६५ वटा दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका हुन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यसअवधिमा ३ सय ५४ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यि सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल २ सय २४ वटा परेका छन् । यस्तै दुर्घटनामा कार तथा जिप ४७ वटा, ट्रक तथा ट्याङकर ४५ वटा दुर्घटनामा परेका थिए । तेस्रोमा अटो ३४ वटा दुर्घटनाग्रस्त भएका ट्राफिक कार्यालयले जनाएको छ । यस्तै दुर्घटनामा बस १७ वटा, ट्रयाक्टर १० वटा, ट्रिपर ३ वटा, माइक्रोभ्यान २ वटा, स्काभेटर तथा लोडर एउटा, र साइकल तथा अन्य साधन ८ वटा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यी दुर्घटनामा ४६ जनाको मृत्यु हुनुका साथै ५७ जना गम्भीर घाइते तथा ४ सय ७७ जना सामान्य घाइते भई प्रभावित बनेका छन् । नेपालका प्रमुख राजमार्गका साथै पूर्वपश्चिम राजमार्ग भएको तथा काठमाडौं छिर्ने बाटोहरु धेरै रहेकाले यस जिल्लामा सवारी दुर्घटना अत्यधिक हुने गर्दछ । यस क्षेत्रमा मानवीय कारण, सडकको बिग्रिएको अवस्था, मौसम बिग्रँदा, प्राकृतिक प्रकोपको कारण, यान्त्रिक कारण, पशुचौपाया तथा पैदलयात्रीले अनियन्त्रित हिसाबले बाटो काट्दा लगायत कारणले सडक दुर्घटना हुँदै आएको ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुँयालले जानकारी दिएका छन् ।
पहिलेपहिले केहीवर्ष सडकको अवस्थाको कारण केही दुर्घटना हुने भएपनि पछिल्लो समय मानवीय कारण र यान्त्रिक कारणले बढी दुर्घटना हुने गरेको पाइएकोे उनको भनाइ छ । पछिल्लो समय दुर्घटना भएपछिको सुरक्षाजाँचका क्रममा चालकहरु मादकपदार्थ सेवन तथा लागुपदार्थ सेवन गरेको पाइएको उनले स्पष्ट पारेका छन् । यसअवधिमा भएका १ सय १४ जनाको लागूऔषध जाँचका क्रममा १२ जना सवारीचालकले लागूऔषध सेवन गरी सवारीसाधन चलाएको पाइएको थियो । यस्तै मादकपदार्थ सेवन गरी सवारी चलाउने ३ सय ४३ जनालाई कारबाही गरिएको प्रहरीको भनाइ छ ।
यस्तै यान्त्रिकरुपमा अचानक आउने समस्याको कारण पनि दुर्घटना भएका घटना धेरैरहेको प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले चालकसँग ५ मिनेट कार्यक्रम गरी सडकमै चालकलाई सचेत गराउने गरेको उनले बताए । यस्तै नयाँ सवारी चालकलाई कक्षा सञ्चालन, विद्यार्थी तथा व्यवसायीलाई पनि सचेतना कार्यक्रम गर्ने गरिएको छ । साउनयता फागुनसम्म ६ सय ३९ पटक गरी ४६ हजार ४ सय जनालाई सचेतना कार्यक्रममा गरिएको समेत ट्राफिकको भनाइ छ । सडक दुर्घटना न्यूनीकरणका लागि नियमितरुपमा ट्राफिक चेकजाँच गर्ने गरिएको फुँयालले बताए । यसअवधिमा भएका ९ हजार ५ सय ७३ वटा ट्राफिक कारबाहीबाट ८७ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन भएको पनि उनले जानकारी दिए ।
ट्राफिक प्रहरीले सचेतना, जाँच तथा कारबाही र जरिवाना गर्दा दुर्घटनाको संख्यामा कमी नआएकोले अबको क्रममा स्थानीय सरकार पनि गम्भीर भएर सचेतनामा लाग्नुपर्ने प्रहरीको सुझाव छ । स्थानीय तहले नै विद्यालयमा सडक दुर्घटनाको विषयमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने, बाटो काट्ने नियम सिकाउने, ट्राफिक नियम मान्न उत्प्रेरित गर्ने, बिग्रिएका सडक मर्मतमा सडक विभागले तदारुकता देखाउने गरेमा सवारी चालकले सवारी चलाउनुअघि सवारी साधनको यान्त्रिक स्थिति जाँच गरेर मात्र यात्रा गर्ने, हतार गरेर सवारी नचलाउने इत्यादिमा ध्यान दिएमा सवारी दुर्घटनामा कमी आउनसक्ने प्रहरीनिरीक्षक फुँयालले बताए ।







