मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

साझाकुरा
२०८२ चैत्र १६, सोमबार १३:०६

हेटौंडा- पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको संख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेपछि मकवानपुरमा महिलाउद्यमी बढेका हुन् ।उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् ।

महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् । सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको प्रमुख भुसालको भनाई छ ।

यो अवधिमा उद्योगतर्फ ४० वटा उद्योगको नामसारी, १५ वटा ठाउँसारी, ९४८ वटा नवीकरण, ४३ वटाको प्रतिलिपि, ७३ वटाको लगतकट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ । यो अवधिमा वाणिज्यतर्फ पाँचवटा नामसारी, सातवटा उद्योगको ठाउँसारी, २७ वटा उद्योगको पूँजीवृद्धि, एक हजार ५४ वटा उद्योगको नवीकरण, ९३ वटा उद्योगको लगतकट्टा तथा ३७ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ ।नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायत शीर्षकबाट यस अवधिमा एक करोड ३१ लाख ८४ हजार १५९ रुपैयाँ राजस्व संकलन भएको प्रमुख भुसालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*