‘एकजिल्ला एक स्वस्थ्य सहर’ घोषणाको तयारी

साझाकुरा
२०८२ चैत्र २५, बुधबार ०९:१४

हेटौंडा- बागमती प्रदेशको एकमात्र उपमहा नगरपालिका हेटौंडा उपमहानगर स्वस्थ्य सहर बन्ने भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एकजिल्ला एक स्वस्थ्य सहर’ घोषणा गर्ने तयारी अनुसार प्रदेशको राजधानी रहेको हेटौंडालाई स्वस्थ्य सहर बनाउने कार्यको थालनी गरिएको हो । एक जिल्ला एक स्वस्थ सहर कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरस्तरीय समिति बैठक तथा अभिमुखीकरण मंगलवार आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरको संयुक्त आयोजनामा भएको अभिमुखीकरणमा जनस्वास्थ्य कार्यालय प्रमुख, कर्मचारीसहित हेटौंडा उपमहानगर प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् कर्मचारीलाई स्वस्थ्य, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरण प्रदान गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरका स्वास्थ्य शाखाप्रमुख सूर्यप्रसाद तिवारी र जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र विश्व स्वास्थ्य संगठन बागमती प्रदेशका अधिकृत हरि भुसालले स्वस्थ्य सहर निर्माणका लागि आवश्यक कार्ययोजना बारेमा प्रस्तुतीकरण दिएका थिए । प्रदेशका सबै जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी एक जिल्ला एक स्वस्थ्य सहर निर्माण अभियानलाई अगाडि बढाइएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र मकवानपुरको हेटौंडा उपमहानगरमा एक जिल्ला एक स्वस्थ्य सहर कार्यक्रम सुरु भएको छ । रसुवाको गोसाईकुण्डमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ्य सहर’ घोषित भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ्य सहरका रुपमा घोषणा गरेको थियो । सन् २०१६ मा चिनको संघाईमा भएको स्वस्थ्य सहरसम्बन्धी मेयर सम्मेलन पश्चात दिगो विकासका लागि मेयरहरु नै वास्तविक परिर्वतन ल्याउने शक्ति हुन् भन्ने प्रतिवद्धता सहित स्वस्थ्य सहरको अवधारणा अगाडि आएको हो ।

मानिसको स्वास्थ्यलाई स्वस्थ बनाउन स्वास्थ्यक्षेत्रको योगदान २० प्रतिशत मात्रै हुन्छ भने बाँकी ८० प्रतिशत अन्य क्षेत्र खानपान, घरायसी वातावरण, पर्यावरण, शिक्षा, रोजगारी र आर्थिक अवस्थाको प्रभाव रहने गरेको विश्व स्वास्थ्य संगठन प्रदेश अधिकृत भुसालको भनाई छ । प्रदेशमा करिव ७० प्रतिशत मानिस सहरमा बसोबास गर्दै आएका छन् भने पछिल्लो समय नसर्ने रोग पनि बढ्दै गएको तथ्यांक उनले प्रस्तुत गरे । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, हेटौँडा उपमहानगरप्रमुख मीना लामा, प्रदेशसचिव डा.सुमित्रा गौतम, हेटौंडा उपमहानगर महाशाखा प्रमुख भीम तिमल्सिनालगायतले हेटौंडालाई स्वस्थ्य सहर बनाउने बारे धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*