होचा पुड्का महिलाको नाटक ‘उत्सर्ग’ पोखरा र हेटौंडामा देखाइने

साझाकुरा
२०८२ चैत्र २५, बुधबार ०९:११

हेटौंडा-नेपाल होचा पुड्का संघको प्रस्तुति र स्थानीय निकायको सहकार्यमा तयार पारिएको जनचेतनामूलक नाटक ‘उत्सर्ग’ प्रदर्शनमा आएको छ । समाजमा होचा पुड्का व्यक्तिहरु, विशेषगरी महिलाप्रति
रहेका भ्रम र डरलाई चिर्दै सचेतना फैलाउने उद्देश्यले यो नाटक तयार पारिएको हो । नाटकले होचा पुड्का महिला आमा बन्न सक्छन् वा सक्दैनन् भन्ने सामाजिक जिज्ञासा र भ्रमलाई मुख्य विषयवस्तु बनाएको छ । यसका साथै प्रजनन स्वास्थ्य, परिवार नियोजन र महिला अधिकारका सवाललाई नाटकमार्फत उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ । राजु खतिवडाको लेखन रहेको यस नाटकलाई चर्चित रंगकर्मी तथा अभिनेता जेबी डिसीले निर्देशन गरेका हुन् ।

लामो समयदेखि रंगमञ्च र चलचित्र क्षेत्रमा सफल अभिनेताको रुपमा स्थापित डिसीले विगत धेरै वर्षदेखि होचा पुड्का संघसँगको सहकार्यमा सामाजिक मुद्दामा आधारित नाटक निर्देशन गर्दै आएका छन् । नाटकमा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दाहाल, राजेन्द्र गिरि, रिया घिमिरे, सूर्या खान, लालुमाया पाख्रिन र निशल दुलाललगायत कलाकारको अभिनय रहेको छ । कलाकारले अभिनयमार्फत समाजको संवेदनशील विषयलाई मञ्चमा उतारेका छन् । काठमाडौँका विभिन्न स्थानमा मञ्चन भएको नाटक छिट्टै नै उपत्यका बाहिर पोखरा र हेटौंडाका विभिन्न स्थानमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।समाजका ओझेलमा परेका र संवेदनशील विषयवस्तुलाई समेटेर तयार पारिएको यो नाटकले दर्शकलाई मनोरञ्जनका साथै महत्वपूर्ण शिक्षा र सन्देश दिने विश्वास लिइएको निर्देशक डिसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*