नेउवा महासंघ बागमतीको अध्यक्ष बेदबहादुर निर्वाचित
हेटौंडा-नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।मंगलबार हेटौंडामा भएको निर्वाचनमा दुर्गाराज श्रेष्ठलाई पराजित गर्दै वेदबहादुर अध्यक्ष निर्वाचित भएका हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुरले ६१ दशमलव ०५ प्रतिशत मतप्राप्त गरी निर्वाचित हुँदा दुर्गाराजले ३८ दशमलव ९५ प्रतिशत मतप्राप्त गरे । सोमबार महासंघको नवौं प्रदेशसभा तथा तेस्रो अधिवेशनको उद्घाटन भएको थियो । अधिवेशनबाट तेस्रो अध्यक्षको रुपमा वेदबहादुर निर्वाचित भएका हुन् । यसअघि संस्थापक अध्यक्ष दिनेश श्रेष्ठ थिए भने दोस्रो कार्यकालको अध्यक्ष दिलसुन्दर श्रेष्ठ थिए ।
मंगलबार भएको निर्वाचनमा वस्तुगत, एसोसिएट र जिल्ला÷नगर गरी २ सय १७ मत खसेको थियो । उपाध्यक्षतर्फ जिल्ला÷नगरमा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता विजयी भए । गुप्ताले थाहानगरका कविराज खत्रीलाई पराजित गरे भने जिल्ला÷नगरतर्फ ३१ मत खस्दा गुप्ताले २१ मत प्राप्त गरे । खत्रीले १० मत प्राप्त गरे । एसोसिएट उपाध्यक्षतर्फ कृष्णभक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । वस्तुगत उपाध्यक्षतर्फ प्रेमहरि मैनाली १४ मतसहित निर्वाचित हुँदा अर्का आकांक्षी राजकुमार दाहाल (६ मत) पराजित भए ।
कोषाध्यक्षमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्रबहादुर खत्री ९७ मतसहित विजयी हुँदा जीवनकाजी माकजु श्रेष्ठ ६६ मतसहित पराजित भए । कार्यकारिणी सदस्यमा जिल्ला÷नगरतर्फ कृष्णमुरारी न्यौपाने (भक्तपुर), जयप्रकाश श्रेष्ठ (रामेछाप), राजकुमार कँडेल (चितवन), राजन कार्की (काभ्रेपलाञ्चोक) र सनत थापा (दोलखा) सर्वसम्मत निर्वाचित भएका हुन् । एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा उत्तम शर्मा ढकाल (मकवानपुर) र नविन्द्रदेव सिं निर्वाचित हुँदा कार्यकारिणी सदस्यमै वस्तुगततर्फ ज्योतिरत्न बज्राचार्य (मकवानपुर) र सदिश श्रेष्ठ निर्वाचित भए ।







