मोतियाविन्दु भएका ११५ जनाको आँखा शल्यक्रिया
हेटौंडा-रोटरी क्लब अफ हेटौंडाको आयोजनामा भएको आँखा शिविरमा मोतियाविन्दुका बिरामी भेटिएका १७५ जनामध्ये ११५ जनाको शल्यक्रिया भएको छ । क्लबले बुधबार, बिहीबार र शनिबार रौतहट, बारा, पर्सा र महोत्तरीका विभिन्न स्थानमा शिविरको आयोजना गरेको थियो । ३ दिन संचालन भएको शिविरमा ८१५ जनाको आँखापरीक्षण गरिएकोमा १७५ जनाको मोतियाविन्दुको समस्या भेटिएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिए । शल्यक्रियाको क्रममा ६० जना नआएको अध्यक्ष प्रधानले बताए । मोतियाविन्दु भेटिएका केही घरायसी कामकाज र केहीलाई स्वास्थ्य समस्याका कारण शल्यक्रियामा सहभागी नभएका हुन् ।
शिविरमा फेलापरेका मोतियाविन्दुका बिरामीको हेटौंडा सामुदायिक आँखा अस्पतालमा आइतबार शल्यक्रिया गरी सोमबार बिदाई गरेको प्रधानले बताए । शिविरअवधिभर बिरामीलाई खान, बस्न तथा आवतजावतको सम्पूर्ण सुविधा निःशुल्क प्रदान गरेको क्लबका अध्यक्ष प्रधानले जानकारी दिए । स्थानीयस्तरमा नियमित रुपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौंडाको यो पहलले ग्रामीण क्षेत्रका आँखाका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।







