बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौंडा-जेनजी आन्दोलनपछि पहिलोपटक बागमती प्रदेशसभाको बैठक मंगलबार बस्ने भएको छ । मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको १७ औं अधिवेशनको पहिलो बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले सोमबार पत्रकार सम्मेलनमार्फत् जनाएको छ । जेनजी आन्दोलनका कारण प्रदेशसभा भवन तथा संरचनामा क्षति पुगेपछि बैठक सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकासँगै रहेको मुख्यमन्त्री सभाहलमा आवश्यक व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रवाचन गरिनेछ । साथै, प्रदेशसभा नियमावली २०७४ को नियम ११ बमोजिम बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिने कार्यसूची छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिले पनि मन्तव्य राख्ने कार्यक्रम रहेको छ । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ सम्बन्धी उत्तरविधायकी परीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ । बैठकमा दुईवटा विधेयक र दुईवटा प्रतिवेदन पनि पेश गरिने उपसभामुख अप्सरा चापागाईले जानकारी दिइन् । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ रहेका छन् । साथै, प्रदेश लोकसेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिनेछ ।
यसअघि मंगलबार दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख निर्वाचन कार्यक्रम कहिले गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । जेनजी आन्दोलनकै बीचमा तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएपछि बागमती प्रदेशसभामा सभामुख रिक्त रहेको छ । सभामुख पदमा सत्तापक्षका दुबै दल काँग्रेस एमाले र प्रमुख प्रतिपक्षी नेकपाले पनि दाबी गरेका छन् ।







