मकवानपुरका दुईजना वीरगन्जमा लागूऔषधसहित पक्राउ
हेटौंडा- वीरगन्जमा सशस्त्र प्रहरीले लागूऔषधसहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ सिमलटार निवासी २० वर्षीय सागर घिमिरे र सोही स्थानकी २३ वर्षीया पूजा जिम्बा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा नियमित चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । सीमा सुरक्षा गुल्म मुख्यालय वीरगन्जबाट लागूऔषध खोजी गर्ने कुकुरसहित खटिएको टोलीले शुक्रबार भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार दुईजनामाथि शंका लागेपछि जाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ५ ग्राम रहेरोइनजस्तो देखिने शून्य दशमलव ३४ मिलिग्राम बरामद गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वडाप्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका सूचनाअधिकारी सशस्त्र प्रहरी नायवउपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।







