सहकारी पत्रकारिता तालिम सम्पन्न
हेटौंडा-बागमती प्रदेशको पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा सहकारी पत्रकारिता तालिम तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । सहकारी तथा गरिबी मन्त्रालय बागमती प्रदेशको सहयोगमा पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो । शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रदेशका १३ जिल्लाबाट ४० जना पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी पत्रकारिता, सहकारी संस्थाको वित्तीय विवरण विश्लेषण तथा मिथ्या सूचना र तथ्य जाँचसम्बन्धी विषयमा अभिमुखीकरण र छलफल गरिएको पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरले जानकारी दिएका छन् ।
सहकारी पत्रकारिता विषयमा सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईं, वित्तीय विवरण विश्लेषण विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीए बद्रीकुमार गुरागाईं र मिथ्या सूचना तथा तथ्य जाँच विषयमा टेकपानाका हिक्मत आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य सूर्य सुवेदी, महासंघ ललितपुर अध्यक्ष रामहरि कार्की तथा फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।







