८ वर्षपछि इन्द्रसरोबर तालको सरसफाई

साझाकुरा
२०८३ जेष्ठ ३, आईतवार १२:५१

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो जलाशयका रुपमा परिचित इन्द्रसरोवर ताल वरिपरि बृहत सरसफाइ गरिएको छ ।
करिब आठ वर्षपछि सञ्चालन गरिएको बृहत् सरसफाइ अभियानबाट तीन ट्रकभन्दा बढी फोहर संकलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीले जनाएको छ । पर्यटकीय क्षेत्रबाट संकलित फोहरमध्ये प्लाष्टिकजन्य र सिसाजन्य सामग्री छुट्याइएको छ । मानव निर्मित इन्द्रसरोवर तालक्षेत्रमा आउने आन्तरिक पर्यटकले जथाभावी फाल्ने पानीका बोतल, मदिराका सिसा तथा चाउचाउ, चिप्सलगायतका खानेकुराका प्लाष्टिकजन्य फोहरका कारण इन्द्रसरोवर क्षेत्र प्रदूषित बन्दै गएको थियो । ताल वरपर फालिएको फोहरले पर्यटकीय सौन्दर्यसँगै जलीय वातावरणसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

मत्स्य विकास केन्द्रका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गाउँपालिका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, इन्द्रसरोवर मत्स्य व्यवसायी संघ मार्खु, इन्द्रसरोवर डुंगा संघ मार्खु तथा स्वास्थ्यचौकीका कर्मचारीको संयुक्त सहभागितामा ताल वरपर र मार्खुक्षेत्रमा सरसफाइ गरिएको हो । करिब तीन सय जनाको सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । मत्स्य विकास केन्द्र कुलेखानीका प्रमुख तथा मत्स्य विकास अधिकृत भीमदत्त भट्टले कुलेखानी क्षेत्रमा करिब आठ वर्षपछि बृहत सरसफाइ गरिएको जानकारी दिए । उनकाअनुसार केन्द्रले वैशाख ११ गते नै सरसफाइ गर्ने निर्णय गरेअनुसार कार्यक्रम गरिएको हो ।

सरकारको सप्ताहव्यापी सरसफाइ अभियानसँग एकै समयमा परेकाले संयुक्तरुपमा बृहत सरसफाइ गरिएको उनले बताए । अब प्रत्येक शुक्रबार कार्यालय परिसर तथा इन्द्रसरोवर ताल परिसरमा नियमित सरसफाइ गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ । सरसफाइका क्रममा ताल वारि र पारिसम्म डुंगाबाट पुगेर फोहर संकलन गरिएको अधिकृत भट्टले जानकारी दिए । पर्यटकीय क्षेत्र तथा ताल परिसरमा बढ्दो फोहरका कारण जलचर प्राणीसमेत प्रभावित भएको भन्दै उनले चिन्ता व्यक्त गरे । डस्टबिनबाहेक अन्यत्र फोहर फाल्नेलाई जरिवाना गर्ने सम्बन्धमा सूचना जारी गर्ने तयारी भएको उनले बताए ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोजकुमार यादवले स्थानीयले खेतीपातीका क्रममा प्रयोग गर्ने रासायनिक मल र विषादि बगेर कुलेखानीमा मिसिँदा माछाको उत्पादन घट्दै गएको बताए । उनले स्थानीय जातका माछाको भुरा उत्पादन तथा अन्य माछाको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘पछिल्लो समय पानीको गुणस्तर बिग्रँदै गएको छ । फोहरका कारण माछाको वृद्धि विकासमा नकारात्मक असर परेको छ,’ उनले भने, ‘पानीमा फोहर मिसिँदा रासायनिक गुण बिग्रिएको छ ।’ रासायनिक मल, विषादि तथा तालमा जथाभावी फालिने फोहरले पानी प्रदूषित हुँदा त्यसको असर माछा हुँदै मानवस्वास्थ्यमा समेत पर्ने उनले बताए ।

मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरका प्रमुख भट्टको नेतृत्वमा कार्यालयका कर्मचारी, भैरवगण चनवनका सेनानी मिलनकुमार जोशी तथा सहसेनानी फत्तनारायण श्रेष्ठको नेतृत्वमा १५५ जनाको टोली, नं. ३ राजदल गण क्युबेक ब्याट्री कुलेखानीका सहसेनानी अर्जुन परियारको नेतृत्वमा ३५ जनाको टोली, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस कुलेखानीका सहायक प्रहरीनिरीक्षक युवराज कार्कीको नेतृत्वमा ३५ जनाको टोली, इन्द्रसरोवर गाउँपालिका–१ का कर्मचारी, नेपाल विद्युत् प्राधिकरण प्रथम जलविद्युत् आयोजना मार्खु शाखा, पालुङ वितरण केन्द्र तथा फ्युजशाखा मार्खुका कर्मचारी, अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायकनिरीक्षक दिपेश यादव, इन्द्रसरोवर मत्स्य व्यवसायी संघ मार्खु, इन्द्रसरोवर डुंगा संघ मार्खु तथा स्वास्थ्यचौकीका कर्मचारीको सहभागितामा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*