थाहानगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान
हेटौंडा-थाहा नगरपालिका–४ शिखरकोटस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुलले एसईई २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन सफल छात्रा सजिना रायमाझीलाई सम्मान गरेको छ ।विद्यालयले विद्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याएर नगर प्रथम बनेकी रायमाझीलाई कदरपत्र तथा नगद ५५ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको विद्यालयका प्रधानाध्यापक बाबुलाल कार्कीले जानकारी दिए । विद्यालयबाट २०७९ सालको एसइइ परीक्षामा छात्रतर्फ नगर प्रथम बनेकी तथा हाल नेपाल सरकार चिकित्सा शिक्षा आयोगअन्तर्गत बीएसएन शैक्षिक कार्यक्रममा बंगलादेशस्थित युबिएटि विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता रायमाझीलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीलाई विद्यालयका अध्यक्ष पुरुषोत्तम कार्की तथा निर्देशक सानोभाइ कार्कीले सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोसहित सम्मान गरेका थिए । कार्यक्रममा निर्देशक कार्कीले विद्यार्थीको लगनशीलता, शिक्षकको मेहनत र अभिभावकको त्यागबाट मात्रै उत्कृष्ट नतिजा सम्भव हुने उल्लेख गर्दै सफल विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । उत्कृष्ट विद्यार्थीका अभिभावकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सम्मानित विद्यार्थीलाई शिखरकोट बजार परिक्रमा गराई उत्साहपूर्ण स्वागत गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, एसइइ उत्तीर्ण विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो ।







