निर्देशनको कार्यान्वयनमा प्रगति विवरण माग

साझाकुरा
२०८३ जेष्ठ ३, आईतवार १३:०४

हेटौंडा-बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले विभिन्न समयमा समितिबाट भएका निर्देशनको कार्यान्वयनको समीक्षा गर्ने भएको छ ।प्रदेशसभा सचिवालयमा बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय तथा मातहत निकायलाई समितिबाट भएको निर्देशनको कार्यान्वयन सम्बन्धमा सात दिनभित्र विस्तृत प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । कार्यान्वयनको अवस्था स्पष्ट पार्न सम्बन्धित निकायलाई ताकेता गरेको समितिका सभापति ठाकुरप्रसाद ढकालले बताएका छन् ।

समितिले मन्त्रालय तथा अन्तर्गतका निकायलाई विगतमा समितिबाट जारी निर्देशनको कार्यान्वयन अवस्था, भएका प्रगति, बाँकी काम र देखिएका चुनौतीबारे तथ्यसहितको विवरण समितिसमक्ष बुझाउन भनेको हो । निर्देशन कार्यान्वयनमा ढिलाइ वा अवरोध देखिएको अवस्थामा त्यसका स्पष्ट कारण, समाधानका उपाय र हालसम्म गरिएका प्रयास समेत खुलाउन निर्देशन दिएको सभापति ढकालले बताए । यसैगरी बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन भइरहेका प्रमुख आयोजना, परियोजना तथा कार्यक्रमको अवस्थाबारे पनि विस्तृत विवरण माग गरेको छ । ती योजनामा हालसम्म भएको लगानी रकम, कार्यसम्पन्न भएको वा नभएको अवस्था, प्राप्त प्रतिफल तथा सेवाग्राहीमा परेको प्रभावसमेत समेटेर सात दिनभित्र प्रतिवेदन बुझाउन समितिले निर्देशन दिएको हो ।

समितिले हाल सञ्चालन भइरहेका अनुगमन कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र वस्तुगत मूल्यांकनमा आधारित बनाउन जोड दिएको छ । अनुगमनलाई तथ्यमा आधारित, उत्तरदायी तथा गुणस्तर सुनिश्चित गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्दै समितिले सेवाप्रवाह सुधार, उपलब्धि मापन, दीगोपन परीक्षण, सुशासन अभिवृद्धि तथा पारदर्शिता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । समितिले २०८३ जेठ ६, ७ र ८ गते हुने स्थलगत अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*