गाउँपालिकाको पहलमा दुग्ध सहकारीलाई ३० केभिए जेनेरेटर

साझाकुरा
२०८३ जेष्ठ ३, आईतवार १२:५८

हेटौंडा-दुग्ध उत्पादक किसानबाट संकलित रकमलाई पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मकवानपुरका मनहरी गाउँपालिकाले मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लि.लाई साढे ७ लाख रुपैयाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ ।शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापा लाई जेनेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्तप्रकाश अर्याललगायत दुग्ध किसानको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष कालाखेतीले विद्युत अवरुद्ध हुँदा किसानबाट संकलित दूध चिस्यान केन्द्रमा सुरक्षित राख्न समस्या हुने भएकाले जेनेरेटर सहयोग गरिएको बताए । उनले किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको स्पष्ट पारे ।

मनहरी गाउँपालिकाले केही समयअघि दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्दै सहकारी मार्फत् दूध खरिद–बिक्रीको व्यवस्थापन सुरु गरेको थियो । त्यसपछि किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन गरिँदै आएको छ । यसअघि जिल्ला सहकारी संघमार्फत् दूध कारोबार हुँदा प्रतिलिटर ३ रुपैयाँसम्म कमिशन लिइने गरिएकोमा अहिले खर्च घटेर ५० पैसामा सीमित भएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाले ‘कृषिउपज खाता’ सञ्चालन गरेर दूध बिक्रीको आधारमा रकम संकलन गर्दै आएको छ । हालसम्म खातामा करिब २५ लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ ।

संकलित रकम दुग्ध किसान र सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । मनहरीमा सहकारी मार्फत दूध संकलन र नियमित भुक्तानी प्रणाली सुरु भएपछि दुग्ध किसान उत्साहित बनेका छन् । गाउँपालिकाले उद्योगसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेपछि किसानको विश्वास बढेको बताइएको छ । पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालन तर्फ आकर्षित हुन थालेपछि मनहरीबाट प्रतिदिन करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*