‘थाहामा आलुकै भात, तरकारी, अचार खानुपर्ने अवस्था’
हेटौंडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य प्रकाश गौतम र प्रशान्त उप्रेतीले जिल्लाका किसान र नागरिकले भोगिरहेका समस्यालाई संघीय संसद्मा उठाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा क्षेत्र नम्बर १ का सांसद् गौतम र क्षेत्र नम्बर २ का सांसद् उप्रेतीले किसानले दूधको भुक्तानी नपाएकोदेखि सडकको दुरावस्थाका कारण सर्वसाधारणले भोग्नुपरेको कठिन अवस्थासम्मका विषय उठान गरे । सांसद् गौतमले मकवानपुरका दुग्ध किसान महिनौँसम्म दूध बिक्रीको रकम नपाएर आर्थिक संकटमा परेको बताए । उनकाअनुसार हाल जिल्लाका किसानको करिब ३१ करोड रुपैयाँ भुक्तानी बक्यौता रहेको छ ।
किसानले दैनिक उत्पादन गरेको दूध बिक्री गरेपनि समयमै रकम नपाउँदा उनीहरु ठूलो मारमा परेको उनले उल्लेख गरे । सांसद् गौतमले कृषिक्षेत्रमा किसानको निराशा बढ्दै गएको भन्दै उत्पादन गरेको वस्तुको उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरे । ‘किसानले पसिना बगाएर उत्पादन गरेको वस्तुको मूल्य नपाउने अवस्था अन्त्य हुनुपर्छ,’ उनले संसद्मा सुनाए । सांसद् गौतमले खुला सीमाका कारण भारतीय दुग्धजन्य वस्तुको प्रभाव बढ्दा नेपाली किसानले उचित मूल्य नपाएको उल्लेख गर्दै सीमामा कडाइ गर्न सरकारसँग आग्रह गरे । स्वदेशी उत्पादनको संरक्षण र किसानको हितका लागि प्रभावकारी नीति आवश्यक रहेको उनको भनाइ थियो ।
वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले किसानसँग उधारोमा दुध खरिद गरेर भुक्तानी नदिएका निजी डेरी उद्योगलाई असार मसान्तभित्र रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । दुग्ध उत्पादक किसानको भुक्तानीरोकेका मकवानपुरका ११ डेरी उद्योगसहित किसानका प्रतिनिधि राखेर छलफल गराएको हो । मकवानपुरमा संचालित ११ उद्योग वटा डेरी उद्योगबाट किसानले २०७८ सालदेखि १४ करोड ३५ लाख ६३ हजार भुक्तानी पाउन बाँकी छ । यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि किसानको भुक्तानी रोक्ने डेरी उद्योगहरुसंग छलफल गरेको थियो । बक्यौता रकम प्रत्येक महिना जम्मा गर्दै जाने र ६५ प्रतिशत बक्यौता यही असार मसान्तसम्म भुक्तानी गर्ने र बाँकी रहेको रकम असोज मसान्तसम्ममा पूर्णरुपमा रकम भुक्तानी गरिसक्ने प्रतिवद्धता उद्योगले जनाएका थिए ।
‘सडकको कारण सर्वसाधारण आइसोलेसनमा बस्नुपर्ने बाध्यता’
सांसद् उप्रेतीले मकवानपुरका दुर्गमक्षेत्र कैलाश, भीमफेदी, थाहा र राक्सिराङका नागरिकले सडकको अत्यन्त खराब अवस्थाका कारण ठूलो सास्ती भोग्नुपरेको बताए । उनले सडक अवरुद्ध र जीर्ण हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुने गरेको उल्लेख गर्दै हालै कैलाश गाउँपालिकामा उपचारका लागि समयमै अस्पताल पु¥याउन नसक्दा नवजात शिशुको मृत्यु भएको दुःखद घटना संसद्मा सुनाए ।उनले अबको चार महिना वर्षायामभर ती क्षेत्रका नागरिक ‘आइसोलेसन’ जस्तै अवस्थामा बस्न बाध्यहुने अवस्था रहेको बताए । ‘बिरामी पर्दा एम्बुलेन्स बोलाउन सक्ने अवस्था छैन, सडकका कारण जनजीवन नै कष्टकर बनेको छ,’ उनले भने । सांसद् उप्रेतीले थाहा नगरपालिकाका किसानले उत्पादन गरेको आलुको मूल्य अत्यन्तै न्यून भएको र सडकको खराब अवस्थाका कारण काठमाडौंलगायत बजार पु¥याउन नसकेको गुनासो गरे । किसानले उत्पादन गरेको आलु बिक्री नभएपछि घरमै थन्किन बाध्य भएको उनले उल्लेख गरे । ‘थाहामा अहिले आलुकै भात, आलुकै तरकारी र आलुकै अचार खाने अवस्था बनेको छ,’ भन्दै उनले किसानको पीडा संसद्मा प्रस्तुत गरे ।
उनले ठेक्कामा गएका सडक आयोजनाको भौतिक प्रगतिविवरण तत्काल समीक्षा गर्न र निर्माण व्यवसायीको जिम्मेवारी सुनिश्चित गर्न सरकारसँग माग गरे । विकासनिर्माणका काममा ढिलासुस्ती र कमजोर अनुगमनका कारण ग्रामीण भेगका नागरिकले आधारभूत सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो । सस्तोमै आलु बेच्नु परेपछि मकवानपुरको थाहा नगरका कृषक लगानी नै नउठ्ने चिन्तामा छन् । थाहा नगरपालिकाको दामन, पालुङ, बज्रवराही, चित्लाङका कृषक यतिबेला धमाधम आलु खन्न व्यस्त छन् ।उत्पादित आलुको मूल्य अत्यन्त न्यून भएको उनीहरुको गुनासो छ । व्यापारीले खेतमै गएर कृषकबाट अहिले सेतोआलु प्रतिकेजी १० र रातो प्रतिकेजी १२ रुपैयाँमा खरिद गरिरहेका छन् । १२ वडामा विभाजित थाहा नगरका बासिन्दाको मुख्य आम्दानीको स्रोत तरकारीखेती हो । सबैभन्दा बढी आम्दानीको हिस्सा ओगट्ने आलुको उत्पादन र मूल्यमा गिरावट आउँदा स्थानीयको आम्दानी नै प्रभावित हुने गर्छ । थाहाको ६ हजार ३ सय रोपनी जग्गामा आलुखेती गरिन्छ ।







