ऐतिहासिक ‘तुछिमला भैरव प्याखँ’ हेटौंडामा प्रदर्शन हुने

साझाकुरा
२०८३ जेष्ठ ६, बुधबार १०:०१

हेटौंडा-नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा ऐतिहासिक एवम् सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन गरिने भएको छ । नेप इभेन्ट्स इन्टरटेनमेन्टको आयोजनामा जेठ १५ गते नेवार समुदायको ऐतिहासिक एवम् सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन गरिने भएको हो । ‘हेरिटेजको प्रतिध्वनि’ नाराकासाथ आयोजना गरिने कार्यक्रममा नेवार सम्प्रदायका विभिन्न कलासमेत प्रदर्शन हुनेछ । कार्यक्रमकी संयोजक निलम वैद्यका अनुसार भक्तपुरको तुलाछें टोलबाट करिब ६०० वर्षअघि (मल्लकालमा) सुरु भएको सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ हेटौंडामा प्रदर्शन गरिने भएको हो ।

यो नाचको आफ्नै विशिष्ट पहिचानसहित नेवार समुदायको सांस्कृतिक तथा धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकको रुपमा रहेको उनले बताइन् । देवी–देवताप्रति श्रद्धा प्रकटगर्न र समुदायमा शान्ति कायम गर्न नाच परम्परागतरुपमा नाचिँदै आएको उनले बताइन् । युवापुस्तालाई सांस्कृतिक जगेर्नामा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । हेटौंडा–१ स्थित हिमालयन दरबार ब्यांक्वेटमा दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न देवी–देवताका स्वरुपको रोचक नृत्य प्रदर्शन हुनेछ ।

कार्यक्रममा भैरव, महाकाली, बाराही, कुमारी र महालक्ष्मी लगायतको नृत्य प्रदर्शन, खिचा प्याखँ, कवाँचा प्याखँः गरिने कार्यक्रम संयोजक वैद्यले बताइन् । उनका अनुसार आधुनिकताको बढ्दो प्रभावसँगै हराउँदै गएका मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउन र स्थानीय पर्यटन प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरिएको हो । भक्तपुर बाहिर ऐतिहासिक नाच प्रदर्शन हुनुले सांस्कृतिक आदानप्रदानमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अवलोकनका लागि प्रतिव्यक्ति टिकटदर एक हजार रुपैयाँ तोकिएको छ । कार्यक्रममा विभिन्न विधामा २५ जना बढीको नृत्य रहनेछ भने बाध्यबादनसहित करिब १०० जनाले प्रस्तुति दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*