लक्ष्यअनुसार भएन बागमती प्रदेशको राजस्व संकलन
हेटौंडा, ८ जेठ÷ चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनाको अवधिमा वागमती प्रदेश सरकारको राजश्व संकलनको अवस्था अपेक्षाअनुसार कमजोर देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले वैशाख मसान्तसम्म कूल लक्ष्यको ४६ दशमलब ४४ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँमात्रै संकलन भएको छ ।राजश्वका मूख्य स्रोतका रूपमा मूल्य अभिवृद्धि कर र सवारी साधन कर रहेका छन् । मूल्य अभिवृद्धि करतर्फ ८ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ६ अर्ब ४८ करोड रुपैयाँ अर्थात् ७३ दशमलब ७१ प्रतिशत संकलन भएको छ ।
सवारी साधन करतर्फ ८ अर्ब २५ करोड रुपैयाँ लक्ष्य राखिएकोमा ५ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ६६ दशमलब ५९ प्रतिशत राजस्व संकलन भएको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ४ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६४ दशमलब २१ प्रतिशत तथा अन्तः शुल्कबाट २ अर्ब २७ करोड रुपैयाँ अर्थात् ५६ दशमलब ३७ प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । प्रदेशको आन्तरिक स्रोततर्फ भने कर संकलनमा सुधार देखिएको छ । प्रदेश सरकारले आन्तरिक आयतर्फ ४ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ३ अर्ब २४ करोड ५२ लाख रुपैयाँ अर्थात् ६७ दशमलब ३९ प्रतिशत राजस्व संकलन भएको छ । पर्यटन शुल्क, वन पैदावार बिक्री, सवारी चालक अनुमति पत्र तथा सवारी नवीकरण शुल्क प्रदेशको आन्तरिक आम्दानीका प्रमुख स्रोत बनेका छन् ।
यसैगरी, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानतर्फ १४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएकोमा हालसम्म ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ अर्थात् ५३ दशमलब ६० प्रतिशत रकम प्राप्त भएको छ । गत वर्षको नगद मौज्दात र बेरुजु असुलीबाट १६ अर्ब ९८ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिए पनि वैशाख मसान्तसम्म उक्त शीर्षकमा जम्मा १ अर्ब ३७ करोड रुपैयाँमात्रै संकलन भएको देखिएको छ ।







