हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको वार्षिकोत्सव सम्पन्न

साझाकुरा
२०८३ जेष्ठ ९, शनिबार १४:१८

हेटौँडा- हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले हेटौंडामा स्वच्छ खानेपानी वितरणका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।बोर्डको १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले मेयरहरु खानेपानीको लागि पाइप नै बोकेर हिँडिरहेको र मन्त्रालय धाइरहेको अवस्थामा हेटौंडामा भने बोर्डको काम उत्कृष्ट रहेको बताइन् ।नगरबासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउनु उपमहानगरको दायित्व भएको उनको भनाइ छ । नगर प्रमुख लामाले उपमहानगरपालिकाबाट दिइँदै आएको अनुदान कटौतीको विषय संघीय सरकारको निर्देशनअनुसार कार्यान्वयन गरिएको स्पष्ट पारिन् । बोर्ड रउपमहानगरपालिकाबीचको समन्वयमा सञ्चालन भएका खानेपानी व्यवस्थापनका काम नमूनायोग्य बनेको उनले उल्लेख गरिन् ।

नगरप्रमुख लामाले शून्य चुहावट तथा ढल व्यवस्थापनका लागि योजना निर्माणको चरणमा रहेको जानकारी दिँदै आगामी ५० वर्षसम्म हेटौंडामा खानेपानी अभाव हुन नदिने गरी दीर्घकालीन योजना अघि बढाइएको बताइन् । उनले खानेपानी क्षेत्रसँग सम्बन्धित करोडौँ रुपैयाँ बराबरका पूर्वाधार निर्माणको कामसमेत अगाडि बढिरहेको जानकारी दिइन् ।त्यसैगरी, कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले बोर्डले पानी उत्पादन तथा वितरणको काम प्रभावकारीरूपमा सञ्चालन गरिरहेको बताएका छन् । हालसम्म १७ वटा उपभोक्ता समिति बोर्डमा समाहित भइसकेको र अझै करिब ४० वटा उपभोक्ता समितिमार्फत् उपमहानगर क्षेत्रमा खानेपानी वितरण भइरहेको उनले जानकारी दिए । संघीय सरकारको सहयोगमा ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्रयोगशालामार्फत् नियमितरूपमा पानीको गुणस्तर परीक्षण हुँदै आएको उनले बताए । परीक्षणका आधारमा हेटौंडा क्षेत्रमा वितरण हुने पानी धाराबाटै सिधै पिउन योग्य रहेको अध्यक्ष विष्टले दाबी गरे ।

बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बोर्डको प्रगति विवरण प्रस्तुत गर्दै हाल हेटौंडाका १९ वडामध्ये वडा नम्बर १२ र १३ बाहेक १७ वडामा सेवा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार करिब १ लाख ७० हजार नागरिकलाई २९ हजार ७ सय ९ वटा धारामार्फत् दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण भइरहेको छ । नगरको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी वितरण भइरहेको उनले बताए ।उनका अनुसार हाल बोर्डसँग सतहगत एक मुहान, ४० डिप ट्युबेल र १९ समवेल सञ्चालनमा रहेका छन् । पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर पुगेको तथा करिब ८ सय किलोमिटर पाइपलाइन विस्तार गरिएको उनले जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा बोर्डले विभिन्न पूर्वाधार योजना सम्पन्न भएको जानकारी दिएको छ । हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी ट्यांकी, वडा नं. १६ मा सार्वजनिक शौचालय, आधुनिक पानी परीक्षण प्रयोगशाला तथा विभिन्न क्षेत्रमा पाइपलाइन विस्तार गरिएको जनाएको छ ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र बोर्डको सहलगानीमा हेटौंडा–१६ शक्तिमा ६ वटा पानी संकलन ट्यांकी, समवेल तथा ३.५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस्तै बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौंडा–११ थानाभ¥याङ–सिमलटार क्षेत्रमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी तथा पूर्वाधार निर्माण सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०८२÷०८३ को वैशाख मसान्तसम्म पानी महसुलतर्फ १२ करोड १५ लाख रुपैयाँ बिलिङमध्ये ११ करोड ८७ लाख रुपैयाँ अर्थात् ९७ दशमलव ७० प्रतिशत रकम संकलन गरेको जनाएको छ । उपभोक्ताबाट ७१ लाख ६८ हजार रुपैयाँ अग्रिम महसुलसमेत जम्मा भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार समग्र आयतर्फ २४ करोड ५ लाख ९७ हजार ५ सय रुपैयाँ विनियोजित बजेटमध्ये १४ करोड ६६ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ संकलन भएको छ । व्ययतर्फ ११ करोड ७९ लाख ८५ हजार ६ सय १ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई, बोर्ड सदस्य डा. कृष्ण धिताल तथा हेटौंडा उपमहानगरपालिका वातावरण सुधार समन्वय समितिका अध्यक्ष धुब्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा बोर्डले अनुशासन, कार्यसम्पादन मूल्याड्ढन र कामप्रतिको लगनशीलतालाई आधार मानी उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीमा नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्दबहादुर थपलिया, डिलबहादुर योञ्जन र तिलकबहादुर श्रेष्ठ छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*