नव आगुन्तकलाई स्वागत, उत्कृष्टलाई सम्मान
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले नव आगुन्तक विद्यार्थीलाई स्वागत र एसईई २०८२ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार ओम्याक्स हलमा एक औपचारिक कार्यक्रम गरी शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थी तथा अभिभावकहरूलाई स्वागतसहित एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको सभाध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिग्देलले भुटनदेवी माविले प्राविधिक शिक्षामा पु¥याउँदै आएको योगदानको प्रशंसा गरेका छन् ।
गुणस्तरीय शिक्षाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । नयाँ विद्यार्थीहरूलाई मेहनत र अनुशासनका साथ अध्ययन गर्न आग्रह गर्दै अध्यक्ष सिग्देलले सफल भविष्यको शुभकामनासमेत व्यक्त गरे ।उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । वि.सं. २०१६ सालमा स्थापना भएको यस विद्यालयले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षामा विशेष योगदान दिँदै आएको छ ।







