मकवानपुरगढीका युवाले थाले गाउँ सरसफाई अभियान
हेटौंडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका युवाहरूले गाउँलाई सफा र व्यवस्थित बनाउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालनगरेका छन् । “आफ्नो गाउँ, आफैँ सफा गरौँ” भन्ने नारासहित एक सातादेखि स्थानीय युवाहरू नियमित रूपमा अभियानमा जुटिरहेका हुन् ।गाउँपालिका वडा नम्बर–३ आसपास, मनकामना डेरी चोक, फुट्सल क्षेत्र तथा सडक किनारमा जथाभावी फालिएका फोहोर सड्ढलन गर्दै युवाहरूले सरसफाइ अभियानलाई निरन्तरता दिएका छन् । अभियानका क्रममा मदिरा र पानीका बोतल, चाउचाउ तथा चिप्सका खोल, गुड्खा र सुर्तीजन्य पदार्थका प्याकेटलगायत प्लास्टिकजन्य फोहोर बढी भेटिएको सहभागीहरूले बताएका छन् ।
करिब २० जना युवाको सक्रिय सहभागितामा सञ्चालन भइरहेको अभियानबाट हालसम्म एक ट्याक्टर फोहोर सड्ढलन गरिएको छ । सड्ढलित फोहोरलाई व्यवस्थापनका लागि ट्याक्टरमार्फत् हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा पठाइएको जनाइएको छ । अभियानमा सहभागी युवा प्रेमप्रसाद तिमल्सिनाले गाउँलाई सफा राख्ने जिम्मेवारी सबै नागरिकको भएको भन्दै त्यसैको सन्देश दिन अभियान सुरु गरिएको बताए । “आफ्नो ठाउँ सफा र राम्रो बनाउने जिम्मेवारी सबैको हो भन्ने सोचका साथ अभियान थालेका हौँ,” उनले भने ।
युवाहरूले सडक किनार, सार्वजनिक स्थल र चोकहरूमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दै समुदायमा सरसफाइप्रति चेतना फैलाउने प्रयाससमेत गरिरहेका छन् । स्थानीयस्तरमै युवाहरूले देखाएको सक्रियता र सामाजिक उत्तरदायित्वले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ ।स्थानीय बासिन्दाले युवाहरूको प्रयासको प्रशंसा गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् । सामूहिक प्रयासबाट गाउँलाई सफा, सुन्दर र स्वस्थ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान अहिले उदाहरणीय बन्दै गएको छ ।







