५० जनाले रक्तदान गरे
हेटौँडा-हेटौँडा उपमहानगरपालिका–१२ पान्तलेस्थित आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।रगत अभाव न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले आयोजित कार्यक्रममा १८ जना महिला र ३२ जना पुरुष गरी ५० जनाले रक्तदान गरेका हुन् । संस्थाकी अध्यक्ष सोममाया मोक्तानको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका–१२ की वडा सदस्य गीता परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा स्थानीयवासी तथा सहकारीका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता जनहितकारी तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।







