क्रसर सामग्री खरिदका लागि बागमती गाउँपालिकाका टिम भारतमा
हेटौँडा- मकवानपुरको बागमती गाउँपालिकाले आफैले क्रसर उद्योग सञ्चालनको लागि तयारी गरिरहेको छ । क्रसर सामग्री खरिदका लागि बागमती गाउँपालिकाका टिम भारतमा पुगेर कम्पनीसँग सम्झौता र छलफल गरेका छन् ।बागमती गाउँपालिकाले क्रसर उद्योगका लागि आवश्यक सामग्री खरिदका लागि भारतको गुजरात, वडोदरा स्थित श्री अम्बिका इन्जिनियरिङ कम्पनीसंग छलफल र सम्झौता गरेको छ ।
उक्त छलफलमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिना, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, वरिस्ठ लेखा अधिकृत झम्कनारायण घलान तथा मेकानिकल इन्जिनियर आदित्य अधिकारी सहभागी छन् ।छलफलका क्रममा स्पेसिफिकेसन अनुसार सामग्रीको परिमाण तथा गुणस्तर एकिन गरिएको छ । साथै, कम्पनीबाट उत्पादन हुने सामग्री मस्र्याङ्दी एप्लाइड जेभी मार्फत् ल्याई जडान गर्ने विषयमा समेत सहमति भएको छ । स्थलगत अनुगमनका क्रममा मेकानिकल ईन्जिनियरद्वारा चेकजाँच गराएका क्रसर प्लान्टको सामाग्रीहरु फरक पर्न गएमा अस्विकार गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।







