प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति

साझाकुरा
२०८३ जेष्ठ २१, बिहीबार १२:३२

हेटौंडा-प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलको प्रश्नको जवाफ दिनेक्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयंव्यक्त गरेको विषयलाई लिएरमकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलले गम्भीर चासो र आपत्ति जनाएका छन् ।यो विषयमा छलफल गर्न सोमबार हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी तथा श्रमसंस्कृति पार्टीका प्रतिनिधिबीच विशेष बैठक सम्पन्न भएको हो । बैठकमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (एमाले) मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक ध्रुव भुजेल तथा श्रमसंस्कृति पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुन्दर लामाको सहभागिता रहेको थियो ।

बैठकले प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ । सहभागी दलले यदि नेपालले भारतको सीमा मिचेको भन्ने दाबी सत्य हो भने त्यसलाई तथ्य र प्रमाणसहित सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् । बैठकमा सहभागी नेताले विशिष्ट र जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय सार्वभौमसत्ता, सीमा तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता संवेदनशील विषयमा बोल्दा पर्याप्त आधार र प्रमाणकासाथ अभिव्यक्ति दिनुपर्नेमा जोड दिएका थिए ।

बिनाप्रमाण यस्ता विषय उठाउँदा राष्ट्रियहित र नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पर्नसक्ने उनीहरुको भनाइ थियो । श्रमसंस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लामाकाअनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले उत्पन्न गरेको विषयवस्तुमा चार राजनीतिक दलबीच गम्भीर छलफल भएको छ । बैठकले यस विषयमा साझा धारणा तयार गरी छिट्टै संयुक्तरुपमा सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ । मकवानपुरका प्रतिपक्षी दलले राष्ट्रियहित, सार्वभौमसत्ता तथा सीमासम्बन्धी विषयमा सरकार थप जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*