पुरुषोत्तममासमा थाहाको मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो

साझाकुरा
२०८३ जेष्ठ २१, बिहीबार १२:५०

हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–२, सोल्टुस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मत्स्यनारायण मन्दिरमा पुरुषोत्तममासको अवसरमा विशेष पूजा, स्नान तथा धार्मिक कार्यक्रम भव्यरुपमा सञ्चालन भइरहेको छ ।हिन्दु धर्मशास्त्रअनुसार भगवान् विष्णुको आराधनाका लागि विशेष मानिने पुरुषोत्तममासमा देशका विभिन्न स्थानबाट भक्तजन मन्दिर पुगेर पूजा–आराधना, कथाश्रवण तथा स्नानमा सहभागी भइरहेका छन् । यो महिनामा भगवान् नारायणको पूजा, दान पुण्य तथा महात्म्य श्रवण गरे पापनाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । स्थानीयकाअनुसार विक्रम संवत् १९०० अगावै स्थापना भएको मत्स्यनारायण मन्दिर पालुङ सोल्टु क्षेत्रको प्रमुख धार्मिक धरोहरकारुपमा परिचित छ ।

स्थानीय समाजसेवी शमशेरबहादुर बस्नेतले आफ्नै लगानीमा मन्दिर, मूर्ति तथा पाटी निर्माण गरी नित्य पूजा र प्रत्येक पुरुषोत्तममासमा महात्म्य श्रवणको परम्परा सुरु गरेका थिए । लामो समयसम्म ओझेलमा परेको यस मन्दिरलाई हाल स्थानीयवासीको सक्रिय पहलमा पुनर्निर्माण गरिएको छ । पुनर्निर्माणपछि मन्दिर परिसर थप आकर्षक र व्यवस्थित बनेको छ । वडासदस्य युवराज बिष्टले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले मन्दिर पुनर्निर्माण गरिएको बताए ।

उनकाअनुसार यसले स्थानीय पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष सीताराम बिष्टकाअनुसार वैशाख ३० गते प्राणप्रतिष्ठासहित विशेष धार्मिक कार्यक्रम सम्पन्न गरिएको थियो । त्यसपछि जेठ २ गतेदेखि असार १ गतेसम्म पुरुषोत्तम महात्म्य कथावाचन, मलमास स्नान तथा विविध धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन् । प्राकृतिक सौन्दर्यले घेरिएको सोल्टु क्षेत्रको यो धार्मिक स्थलले भक्तजनको आस्था मात्र नभई पर्यटनको सम्भावना पनि बोकेको स्थानीयको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*