हेटौंडाको भविष्य उज्ज्वल : प्रदेशप्रमुख देवकोटा
हेटौंडा-बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले हेटौंडा मुलुकको मध्यभागमा रहेको महत्वपूर्ण सहर भएकाले यसको भविष्य उज्ज्वल रहेको बताएका छन् । हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित ‘समृद्ध हेटौंडा बहस’ कार्यक्रमको सोमबार उद्घाटन गर्दै प्रदेशप्रमुख देवकोटाले प्राकृतिक रुपमा मनोरम रहेको हेटौंडालाई सबै मिलेर वातावरणमैत्री र आकर्षक सहर बनाउन आग्रह गरे ।
समृद्ध हेटौंडा निर्माण गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने उनको तर्क थियो । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पालिकाहरु नागरिकले देख्ने र भेट्ने सरकार भएकाले पालिकाको जनप्रतिनिधि आग्रह र पूर्वाग्रहमुक्त हुनुपर्ने बताए । मुलुकमा सुशासन कायम गर्न सबैभन्दा पहिला जनप्रतिनिधि नै अनुशासित र मर्यादित हुनुपर्ने कुरामा उनले जोड दिए ।
हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको सभापतित्वमा संचालित बहस कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले आफ्ना विचार व्यक्त गरेका थिए । ‘समृद्ध हेटौंडा बहस’ अन्तर्गत पहिलो सत्रमा ‘स्थानीय सरकार ः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा’ शीर्षकमा बहस गरिएको थियो । बहसमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, हेटौंडा उपमहानगरपालिका प्रमुख लामा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले धारणा राखेका थिए ।
सञ्चारकर्मी राजेन्द्र बानियाँले संचालन गरेको सत्रका सहभागीले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरेका थिए । यसैगरी हेटौंडाको विकास र अबको प्राथमिकताको विषयमा पूर्वसचिव किशोर थापा, सहरीविज्ञ डा. कीर्तिकुसुम जोशी र हेटौंडा नगरउपप्रमुख राजेश बानियाँले धारणा राखेका थिए । कार्यक्रममा सहजकर्ताको भूमिका संचारकर्मी सुगरिका केसीले गरेकी थिइन् ।
‘समृद्ध हेटौंडा बहस’ मा ‘स्थानीय सरकार ः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा’, ‘सिर्जनशील हेटौंडा ः संघर्ष, उद्यम र उडान’, ‘हेटौंडाको विकास र अबको प्राथमिकता’ एवम् ‘सुसंस्कृत, समावेशी र आवासीय सहर’ शीर्षक गरी चारवटा विषयमा बहस गरिएको थियो । बहसमा जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता थियो ।







