बागमती कप टी–२०ः ललितपुर र भक्तपुरको लगातार दोस्रो जित

साझाकुरा
२०८३ जेष्ठ २१, बिहीबार १२:४८

हेटौंडा- हेटौंडा–६ स्थित गौरिटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा ललितपुर र भक्तपुरले बुधबार लगातार दोस्रो जित दर्तागरेका छन् ।बुधबारको पहिलो खेलमा ललितपुरले नुवाकोटलाई ३० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रनको बलियो योगफल तयार पारेको थियो । ललितपुरका लागि सचिन लेखकले ३९ बलमा ५७ रनको उत्कृष्टअर्धशतकीय पारी खेले । आदिल खानले २८, रोनिम तिवारीले २२ तथा विवेक राना मगरले २० रनको योगदान दिए । नुवाकोटका इशान पाली र गणेश गौतमले समान दुई–दुई विकेट लिए ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको नुवाकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । दिनेश सुवेदीले ४७ रन र अनुभव खनालले ४० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ललितपुरका विवेक राना मगर र सरस खत्रीले समान दुई–दुई विकेट लिएर विपक्षी ब्याटिङलाई दबाबमा राखेका थिए । यसअघि ललितपुरले चितवनलाई २ रनले हराएको थियो । बुधबारको दोस्रो खेलमा भक्तपुरले काठमाडौंमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै लगातार दोस्रो सफलता हात पा¥यो ।
पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । कप्तान रित गौतमले सर्वाधिक ६४ रन बनाए भने नितेश कुमारले ३२ रन जोडे । भक्तपुरका सुवास खत्री र भूपेन्द्र आचार्यले समान तीन–तीन विकेट लिए भने सक्रियप्रताप कार्कीले दुई विकेट हात पारे । १३४ रनको लक्ष्य पछ्याएको भक्तपुरले अन्तिमसम्म संघर्ष गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाउँदै रोमाञ्चक जित दर्ता ग¥यो । भक्तपुरका लागि रिङजिन लामाले ३७ रन तथा सक्रियप्रताप कार्कीले २५ रनको महत्वपूर्ण योगदान दिए ।

काठमाडौंका सन्दिप पराजुलीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्ला मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंको सहभागिता रहेको छ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*