११ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघको प्रादेशिक सम्मेलन
हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको प्रादेशिक सम्मेलन सकिएको छ ।चितवनको पर्यटकीय क्षेत्र सौराहस्थित कातिक १३ र १४ का लागि आयोजित प्रथम प्रादेशिक सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो । बागमती प्रदेश अन्तर्गत रहेका महासंघको १० जिल्ला शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागीतामा सम्मेलन आयोजना गरिएको थियो ।
महासंघको बिधानबमोजिम प्रदेश समितिले एक कार्यकालमा एक पटक जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागितामा प्रादेशिक सम्मेलन गर्नुपर्नेछ । प्रदेश अध्यक्ष शिव देवकोटाको सभाध्यक्षतामा भएको सम्मेलनमा मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनमा महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, सचिव सिर्जना अर्याललगायतले सुझाव र निर्देशन पेश गरेका थिए ।
पेशागत सुरक्षा, पत्रकारिताको विकास र सरकारसँगका मागहरु समेटेर सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी गरिएको महासंघ प्रदेश समिति महासचिव कृष्णसारु मगरले बताए । घोषणा पत्रमा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि, तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न यो सम्मेलन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
प्रदेश समितिले कोभिड महामारी लगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा यो सम्मेलनको ध्यानाकर्षण भएको र श्रमजीवी पत्रकारहरुलाई पेसाबाट बिमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन यो सम्मेलन सम्बन्धित पक्षसँग माग गरेको छ ।
कोभिड महामारी लगायतका समस्याले स्वरोजगारमुलक सञ्चारमाध्यम आर्थिक रुपमा धरासयी बनेको र केही सञ्चारमाध्यम बन्द भएका छन्, कतिपय बन्द हुने अबस्थामा पुगेका कारण यो परिस्थितिमा सञ्चारमाध्यम टिकाउन आबश्यक आर्थिक प्याकेज ल्याउन र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरिएको घोषणा पत्रमा उल्लेख छ ।
‘नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने सम्वन्धमा नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले निर्णय गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्दै चितवनमा प्रतिष्ठान स्थापना गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।’
घोषणापत्रमा लेखिएको छ, ‘साथै काभ्रे शाखाले निर्माण गर्दै गरेको महासंघको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रवन्ध मिलाउन पनि यो सम्मेलन सरकारसँग माग गर्दछ । साथै महासंघको प्रदेश कार्यालय रहेको हेटौंडा ११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रकृया अघि बढाउन यो सम्मेलन प्रदेश सरकारसँग आग्रह गर्दछ ।’
महासचिव मगरका अनुसार बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सरकार आफैले सञ्चार गृह सञ्चालन गर्ने अवधारणा अघि सारेकोप्रति भत्सर्ना व्यक्त गर्दै महासंघले स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवर्धनमा खर्च गर्ने व्यवस्था गर्न यो सम्मेलन प्रदेश सरकारसँग माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिले यो आर्थिक वर्षलाई तालिम वर्षको रुपमा अघि बढाउने निर्णय गरेकोसमेत उनले जानकारी दिए ।
प्रदेश भित्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने र यस क्षेत्रमा प्रवेश गर्न चाहानेहरुलाई सीप विकास तालिम सञ्चालन गर्ने समितिको उद्देश्य भएकोले यो अभियान सफल पार्न आबश्यक सहयोग गर्न महासंघले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको अध्यक्ष देवकोटाले बताए ।
यसैगरी स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने विज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न सम्मेलनले संघीय तथा प्रदेश सरकारसँग माग गरेको घोषणापत्रमा उल्लेख छ ।
महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसार महासंघलाई क्रियाशील पत्रकारहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियानमा सहयोग गर्न सम्मेलनमार्फत सबै जिल्ला शाखाहरुलाई आग्रह गरिएको अध्यक्ष देवकोटाले जानकारी दिए ।







