प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे गोष्ठी
हेटौंडा/हेटौंडामा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) १९७९ को प्रतिवेदन कार्यान्वयन बारे गोष्ठी भएको छ । सिडको छैठौं आवधिक प्रतिवेदनको सिफारिसहरुको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय फलोअप गोष्ठीमा बियोण्ड बेइजिङ कमिटी नेपालकी कार्यक्रम अधिकृत रेयुशा चालिसेले स्वागत र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा स्रोतव्यक्ति बेनुमायाँ गुरुङको प्रस्तुती रहेको थियो । युवा सेवा समाज (युसेस) मकवानपुरले संयोजन गरेको कार्यक्रम बियोण्ड बेइजिङ कमिटी नेपालले आयोजना गरेको हो ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा युवा सेवा समाज (युसेस) मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बागमती प्रदेशका मकवानपुर, चितवन, काठमाडौं लगायत ९ जिल्लाका सरकारी÷गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता जनाएका थिए ।
कार्यक्रममा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)को परिचय, बिशेषता, अविभेदको सिद्धान्त, समानताको सिद्धान्त, समानता सम्बन्धि दृष्टिकोण, सिड महत्वपूर्ण हुनुको मुख्य कारण, विभिन्न अधिकारहरु, उजुरी गर्ने कार्यविधि, राज्यको दायित्व, प्रतिवेदन सम्बन्धि संयन्त्र, सिड समितिमा प्रस्तुत गरिने प्रतिवेदनको स्वरुपहरु, छायाँ प्रतिवेदनको परिचय, आवधिक प्रतिवेदन, महिलाको यौन, प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धि सिफारिसहरु, सरकारी प्रतिवेदनमा प्रस्तुत तथ्यांकहरु, स्वास्थ्य सम्बन्धि सुझावहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुको ५ समूह बनाई विद्यमान नीतिगत तथा कार्यक्रमिक व्यवस्था र अवस्था, उदयमान मुद्दाहरु, चुनौतिहरु, सिफारिसहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे छलफल गरि प्रस्तुतीकरण गरिएको जनाइएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका योजना, बजेट तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला तथा बालबालिका महाशाखा अधिकृत चन्द्रकुमारी व्यञ्जनकारलगायतको आतिथ्य थियो ।







