प्रदेश क्षेत्रीय सभापतिमा श्रेष्ठको दाबी
हेटौंडा/नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मकवानपुर प्रदेशसभा १ (क) को क्षेत्रीय सभापति पदमा युवा नेता सुशान्तकुमार श्रेष्ठले दाबी गरेका छन् । उनले सोमबार उम्मेदवारी घोषणासमेत गरेका हुन् । निर्वाचित जिल्ला सदस्यसमेत रहेका श्रेष्ठले पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेकोले आफ्नो उम्मेदवारी रहेको बताए । २०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भइ सक्रिय राजनीतिमा रहेका श्रेष्ठले आफू निर्वाचित भएससंगै पार्टीभित्र युवाहरुलाई सहि स्थानमा नेतृत्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले मकवानपुरमा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम युवाहरुलाई समेट्न पनि आफू नेतृत्वमा आउन जरुरी रहेको धारणा व्यक्त गरे । ‘जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको छ । नजिकिँदै गरेको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट युवाहरुलाई राजनीतिकको मूल धारमा ल्याउन पहल गर्नेछु ।’, श्रेष्ठले पार्टीभित्रको गुट, उपगुटको अन्त्य गर्दै कांग्रेसलाई स्वच्छ र एकढिक्का बनाएर अगाडि बढाउन उम्मेदवारी घोषणा गरेको बताए ।
नेपाली चलचित्र निर्माण सँगै अभिनयमा पनि सक्रिय रहेका श्रेष्ठ पार्टीको साँस्कृतिक विभागको प्रमुख भई केन्द्रीय सभापतिको उपस्थितीमा बृहत साँस्कृतिक कार्यक्रम गरी पार्टीलाई अझ माथि उठाउन सहयोग गरेका थिए । क्षेत्र १ को प्रदेश सभा (क) अन्तरगत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, हेटौंडा उपमहानगरको वडा नम्बर १६, १७, १८, पूर्वी क्षेत्रको बकैया गाउँपालिका र बागमती गाउँपालिका पर्दछन् ।
‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हाम्रो पार्टीको मूल नारा हो । हामी युवाहरु यसै नारालाई आत्मसाथ गर्दै अगाडि बढ्न जरुरी छ । पार्टीभित्र पछिल्लो समय सिद्धान्तभन्दा व्यक्ति बढी हावी भइरहेका छन् । त्यसकारणले गर्दा यस अधिवेशनबाट सवल र सक्षम युवाहरु नेतृत्वमा आउनु आवश्यक छ ।’, उनले भने । २०६४ र २०७० को निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई निर्वाचित गराउन अहम भूमिका निभाउदैं २०७४ को स्थानीय र प्रदेश÷संघीय चुनावमा सक्रिय रुपमा खटिएका श्रेष्ठ २०७२ मा निर्वाचित जिल्ला सदस्य बनेका थिए ।







