कच्चापदार्थका कारण दाना उत्पादन रोकियो

साझाकुरा
२०७८ कार्तिक २६, शुक्रबार ०९:२८

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाभित्र कुखुरा र पशुका लागि बन्दै आएको दानाको उत्पादन रोकिएको छ । मकवानपुरगढी–३ स्थित तल्लो कालिखोला दमारमा रहेको दाना उद्योगमा कच्चापदार्थ अभाव हुँदा उत्पादन रोकिएको हो । मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघले उद्योग स्थापना गरेर वैशाखदेखि दाना उत्पादन गर्दै आएको थियो । तिहारअघि दाना बनाउन आवश्यक पर्ने कच्चापदार्थ मलासेस (सखरको खुँदो ) ल्याउन कानुनी जटिलता भएपछि उत्पादन रोकिएको उद्योगका व्यवस्थापक विष्णु दंगालले जानकारी दिए । मलासेस ल्याउन सम्बन्धित जिल्लाको आन्तरिक राजश्व कार्यालयबाट अनुमति लिनुपर्ने उनले बताए ।

आन्तरिक राजश्व कार्यालय मकवानपुरबाट अनुमति लिइसकेको र अब मलासेस ल्याउने उद्योगसँग सम्झौतालगायत त्याहाँको राजश्व कार्यालयसँग अनुमति लिन बाँकी रहेको उनले बताए । दाना बनाउन मलासेससहित, मकै, तोरी, भटमास, सुर्यमुखीको पिना, धानको ढुटोलगायतका कच्चापदार्थ आवश्यक पर्ने व्यवस्थापक दंगालले बताए । उनका अनुसार उद्योगले वैशाखदेखि ३ हजार ५ सय बोरा दाना उत्पादन गरेर पालिकाभित्रका दुग्ध सहकारीहरुलाई बिक्री गरिसकेको छ।

मकवानपुरगढी गाउँपालिकाको सहयोगमा निर्मित उद्योगको दाना स्थानीय किसानले धेरैरुचाएको दंगालको भनाई छ । स्थानीय कृषकले दाना गुणस्तरीय भएकाले निरन्तर उत्पादनको लागि आग्रह गर्दै आएको उनी बताउँछन् । उद्योगले हालसम्मपनि परीक्षण उत्पादन नै गरिरहेको दंगालले बताए । ‘अब नियमित उत्पादन गरेर पालिका भित्रको दानाको मागलाई व्यवस्थापन गर्न खोज्दैछौं ।,’ दंगालले भने ।

पशुपालन र कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन भन्दै गाउँपालिकाले हरेक आर्थिक वर्षमा उद्योग स्थापनाका लागि बजेट छुट्याएको थियो ।
उद्योगमा दाना उत्पादनका लागि अत्याधुनिक मेसिन जडान गरिएको छ । मेसिनबाट प्रतिघण्टा २ टन २५ किलो बोराको दाना उत्पादन गर्न सकिने व्यवस्थापक दंगालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*