मूल्य बृद्धिविरुद्ध विप्लव समूहद्वारा प्रदर्शन
हेटौंडा/केन्द्रीय कार्यक्रमअनुसार नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि बिरुद्ध विशाल जुलुस प्रदर्शनसहित कोणसभा कार्यक्रम गरेको छ । हेटौंडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस नगरको प्रमुख चोक बुद्धचोकहुँदै सीमाचोकमा पुगि कोणसभामा परिणत भएको हो ।
जिल्ला सचिवालय सदस्य तथा हेटौंडा नगर सेक्रेटरी सुर्य अर्यालको सन्चालनमा सुरु भएको कोणसभा कार्यक्रममा पार्टीका केन्द्रप्य सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता रहेको थियो । उनले कोणसभा कार्यक्रमको सम्बोधन गर्दै विभिन्न रोग, शोक र भोगले व्याकुल आम जनतामाथि सरकारले मनोमानी ढंगले महंगी, कालोबजारी, दलालीहरु मार्फत खुलेआम रुपमा लुट मच्चाई रहेको बताए । उनले भान्सामा माना कसरी जुटाउने भन्ने कुराले सताइएका जनताका चुलामा आगो समेत बाल्न नसक्ने गरि ग्यासको मूल्य भढाएको प्रती आपत्ति जनाए ।
यसरी जनताप्रती गैरजिम्मेवार भइ सरकारले दिनानुदिन पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गराएको हुनाले जनताका वैकल्पिक शक्तिको रुपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी फेरि पनि मसाल जुलुससहित सडकमा आउन बाध्य भएको दाबी गरे । यस्तै कार्तिक २९ गते भित्र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज नगरे विशाल जनसंघर्षमा जुट्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार अफै हुनुपर्ने चेतावनीसमेत दिए ।
साथै कार्तिक ३० गते नेपाल बन्द गर्न बाध्य हुने र सो बन्द सफल पार्न पुलिस, प्रशासन, कर्मचारी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा, पत्रकारलगायत आम नेपाली जनतालाई अपिल समेत गरेका छन् । कार्यक्रमकै बिचमा उनले काम नलाग्ने जनविरोधी दलाल सत्ता संसदीय व्यवस्था भित्रको चुनावी प्रतिस्पर्धाका लागि महंगी बढाएर सरकारले खर्च जुटाउन थालेको हुनाले यसप्रती सजग रहन आम जनतालाई सचेत गराए। भोलि जनताका बहुमुल्य भोट खरिद गर्नकै लागि सरकारले आज जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थसहित खाद्य बस्तुको मूल्य वृद्धि गराएको आरोप समेत लगाए ।
यस्तै उनले हिम्मत भए जनताको माग अनुसार जनवादी व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था र संसदीय व्यवस्था बीच जनमतसंग्रहको घोषणा गरि नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि तयार हुन समेत चुनौती दिएका छन्। यसरी हेटौंडामा सम्पन्न मसाल जुलुस तथा कोणसभा कार्यक्रममा मकवानपुरका जिल्ला सेक्रेटरी वाटर सहित सैयौं जनताको उपस्थिति रहेको थियो । यस्तै मकवानपुरको पूर्वी भूभाग बागमती गाउँपालिकामा पनि पालिका सेक्रेटरी भक्त माझीको नेतृत्वमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरुद्ध छुट्टाछुट्टै दुई ठाँउमा मसाल जुलुस सहित कोणसभा कार्यक्रम सम्पन्न भएको छ।







