मकवानपुरका युवा रौतहटमा गाँजासहित पक्राउ

साझाकुरा
२०७८ कार्तिक २८, आईतवार ११:३६

हेटौंडा/रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित मकवानपुरका दुई जना युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटलाई पाएको विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट चेकजाँचमा खटिएका प्रहरीले शुक्रबार बिहान करिब साढे ९ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंङ गरी राखिएको ना ८ ख ५९४३ नम्वरको मिनी ट्रकमा लागुऔषधको १२ वटा पोका बरामद भएको रौतहट प्रहरीका एसपी विनोद घिमिरेले जानकारी दिए ।

बरामद भएको प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले १२ वटा पोकामा १८६ किलोग्राम गाँजा बरामद गरिएको छ । प्रहरीले गाँजासंगै मिनी ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका वर्ष २५ का सिकिन्द्र गोले र सोही वडा घर भएका १९ वर्षका रिक्तम तामाङलाई नियन्त्रणमा लिएको हो ।लागुऔषधबारे कसैलाई बुझ्न नदिन फल्स बटम बनाएर १२ वटा पोका तयार पारिएर गौरसम्म ल्याउन सफल भएपनि विशेष जानकारीको आधारमा उनीहरुको योजनालाई विफल बनाउन सफल भएको एसपी घिमिरेले बताए ।

ठूलो परिमाणमा बरामद गरिएको लागुऔषध सहित नियन्त्रणमा रहेका दुई जनालाई जिल्ला अदालत गौरबाट लागुऔषध मुद्दामा न्यायीक हिरासतमा राखि आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*