मकवानपुरगढी गाउँपालिकामा कांग्रेसको तालाबन्दी
हेटौंडा/मकवानपुरगढी गाउँपालिकाको कार्यालयको तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले समितिले कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेको हो । गाउँपालिकाले विगत आठ महिनादेखि ढुड्डा गिट्टी बालुवा उत्खननको प्रक्रिया, त्यसमा देखिएको परिणाम संख्या र घोटला हुन लागिएको राजस्व र पछिल्लो समयमा सोही गिट्टी बालुवा तथा नदीजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय नगरेको भन्दै कांग्रेसले गाउँपालिकाको मुल गेटमा र नयाँ बनेको भवनको च्यानल गेटमा ताला लगाएको हो । कांग्रेस गाउँपालिका सभापति राजवीर मोक्तानको नेतृत्वमा कांग्रेस नेता तथा तरुण विद्यार्थीले तालाबन्दी गरेको हो ।
प्रहरीले खोल्यो ताला
बुधबारनै गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगाएको ताला पालिकाका कर्मचारीको रोहबरमा प्रहरीले खोलेको छ । कार्यालयमा ताला लगाएपछि स्थानीय जनताको नियमित काम कारबाहीमा असर पुगेको भन्दै प्रशासनले कर्मचारीको रोहबरमा ताला खोलेर नियमित काम कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाउँपालिकाले गरेको ज्याजती र ढुंगा गिट्टी बालुवा लगायतका नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजेको भन्दै कांग्रेसले तालाबन्दी गरेको थियो । पालिका अध्यक्षले वडा अध्यक्षहरुसंगै छलफल नगर्ने, भएका सहमतिहरु कार्यान्वयन नगर्ने, सुझावको व्यवास्था गर्ने गरेको कांग्रेसको आरोप छ ।
गाउँपालिकामा भएको अनियमितता र भष्ट्रचार नियन्त्रणको लागि आफुहरुले तालाबन्दी गरेको कांग्रेस मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले जानकारी दिए ।







