औद्योगिक क्षेत्र प्रदेशमातहत ल्याउनुपर्ने मुख्यमन्त्रीको दाबी
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्वमा आउनुपर्ने दाबी गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको हेटौंडामा बुधबारबाट सुरु भएको दोस्रो सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकार उद्योगप्रति प्रतिबद्ध रहेको बताउँदै प्रदेशभित्र रहेका औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्व आउनुपर्ने बताएका हुन् ।
‘बागमती प्रदेशमा रहेका ४ वटा औद्योगिक क्षेत्रलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री र गृहमन्त्री ज्युलाई आग्रह गरेको छु, प्रधानमन्त्री ज्यू र गृहमन्त्री ज्यु सकारात्मक हुनुहुन्छ ।’– मुख्यमन्त्री पाण्डेले भने । उनले कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्रमा रहेका अधिकांश उद्योगमा बनमारा उम्रेर बसेको बताउँदै त्यस्ता उद्योगलाई निश्चित एन कानुन बनाएर प्रदेश सरकारले चलाउनु पर्ने बताएका छन् । उनले औद्योगिक ऐन र नीति आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् ।







