बार्षिकोत्सवमा पुस्तक उपहार
हेटौंडा/बार्षिकोत्सवमा पुस्तक उपहार दिने कार्य अघि बढाएको समृद्ध समाज राष्ट्रिय दैनिकले यस वर्षपनि निरन्तरता दिएको छ । अघिल्लो बर्षदेखि आफ्नो बार्षिकोत्सवमा समृद्ध समाजले यस वर्षपनि पुस्तक उपहार दिने कार्यलाई निरन्तरता दिएको हो । बुधबार एक कार्यक्रम बीच आयोजित समृद्ध समाजको ११ औं र रेडियो निकास आठौं बार्षिकोत्सवमा २ सय जनालाई पुस्तक उपलब्ध गराइएको सम्पादक÷अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत, उपप्रमुख मिनाकुमारी लामा अतिथिलाई सम्पादक श्रेष्ठले पुस्तक उपहार दिएका थिए । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा आमन्त्रितलाई उपहारस्वरुप पुस्तक वितरण गरिएको सम्पादक श्रेष्ठले बताए । गत बर्ष पनि बार्षिकोत्सवको अवसरमा पुस्तक वितरण गरिएको जानकारी गराउँदै पठन संस्कृतिको अभावका कारण सञ्चार माध्यमको उपयोगिता पनि कमजोर हुँदै गएको उनले धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले केही सहभागीलाई पुस्तक वितरण गरेर सुरु भएको पुस्तक वितरण कार्यक्रममा सहभागीले नै एकअर्कालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा समृद्ध समाजमा नियमित लेख लेख्दै आएका वंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछानेलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै रेडियो निकासमा कार्यरत विकास लामालाई वर्ष उत्कृष्ट सहकर्मी–२०७८ बाट प्रशंसापत्रसहित सम्मानित गरिएको थियो ।







