इसिडी शिक्षिकालाई प्रोत्साहन कार्यक्रम
हेटौंडा÷मकवानपुरगढी गाउँपालिकाले इसिडी शिक्षिकाहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएको छ । गतवर्ष विद्यालयमा अध्यापनरत् शिक्षकहरुका लागि स्वर्णिक अवकास कार्यक्रम ल्याएको गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८÷०७९ मा इसिडी शिक्षिकाको लागि कार्यक्रम ल्याएको हो । शिक्षा क्षेत्रको विकासमा उल्लेख्य बजेट विनियोजन गरेर काम गर्दै आएको मकवानपुरगढी गाउँपालिका कार्यालयले इसिडी शिक्षिका अवकास कार्यक्रम ल्याएको शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिए ।
सामुदायिक विद्यालय र समुदायमा आधारित बालविकास केन्द्र (इसिडी)मा कार्यरत शिक्षिकहरुलाई अवकास प्रोत्साहन कार्यक्रम ल्याइएको हो । गाउँपालिकाले उक्त कार्यक्रमका लागि चालू आवमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाभित्र विद्यालय र समुदायमा गरी ५४ वटा इसिडी सञ्चालित छन् । जसमा ५४ जना महिला सहजकर्ता कार्यरत रहेको शिक्षा शाखा प्रमुख घलानले जानकारी दिए । एसईई नगरेका सहजकर्ताहरुले गाउँपालिकाको अवकास प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउने जनाइएको छ । कार्यालयका अनुसार एसईई पास नगरेकाले मात्र नभई इच्छुक सबै शिक्षिकाले पनि यो कार्यक्रममा सहभागी हुन पाउनेछन् । संघीय सरकारले इसिडी सहजकर्ताको न्यूनतम योग्यता एसईई हुनुपर्ने नीति ल्याएकाले गाउँपालिकाले पनि अवकास प्रोत्साहन कार्यक्रम ल्याएको घलान बताउँछन् ।
गाउँपालिकाले यसवर्ष न्यूनतम योग्यता पु¥याउन एकवर्षको समय दिएको शिक्षा शाखा प्रमुख घलानले जानकारी दिए । बालविकास केन्द्रका सहजकर्तालाई एसइई गरेकालाई मात्रै नियुक्त गर्ने प्रावधान ल्याइसकेको कारण यसलाई मध्यनजर गरेर एकवर्ष योग्यता पु¥याउन गाउँपालिकाले समय दिएको घलानले बताए । पालिकाभित्रका ५४ जना सहजकर्तामध्ये एसईई पास नगरेका करिब ९ जना रहेको गाउँपालिकाको रेकर्डमा छ ।
बालविकास केन्द्रमा १५ वर्ष वा सो भन्दा बढी सेवा अवधि भएकालाई १५ महिना बराबरको तलब रकम, १० वर्षदेखि १५ वर्ष सेवा अवधि भएकालाई १२ महिना बराबरको तलब रकम, १० वर्ष भन्दा मुनी सेवा अवधि भएकालाई १० महिना बराबरको तलब रकम प्रोत्साहन कार्यक्रममा सहभागी भए दिइने घलानले जानकारी दिएका छन् ।
गतवर्ष गाउँपालिकाले विद्यालयका शिक्षकहरुका लागि शिक्षक स्वर्णिम अवकास प्रोत्साहन कार्यक्रम ल्याएको थियो । जसमा १३ जना शिक्षकहरु सहभागी भएका थिए ।







