सुरक्षित र श्रमिक साकोस एकीकरण, अध्यक्षमा अर्याल
हेटौंडा÷हेटौंडामा रहेका सुरक्षित तथा श्रमिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ । दुवै सहकारीले शनिवार एकीकरण गरेका हुन् ।
हेटौंडा–४ मा रहेको सुरक्षित साकोस र हेटौंडा–१० मा अवस्थित श्रमिक साकोसले शनिबार छुट्टाछुट्टै वार्षिक साधारणसभा गर्दै दुई सहकारीबीच एकीकरण गर्ने पारित गरेका थिए । सुरक्षितले ११ औं र श्रमिकले १३ औं वार्षिक साधारणसभा गरेर पुनः संयुक्त साधारणसभा गरिएको थियो । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको संयुक्त साधारणसभाबाट दुई सहकारी बीच एकीकरण सफल बनेको हो ।
सुरक्षित साकोसका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा साधारण सभा भएको थियो । सहकारीले आव २०७७÷०७८ मा १० करोड ९४ लाख ५० हजार १ सय ९३ बराबरको कारोबार गर्दै आफ्ना शेयर सदस्यलाई ८ करोड ५१ लाख ५० हजार ४०४ ऋण लगानी गरेको छ । १ करोड ४३ लाख २३ हजार ६ सय शेयरपुजीँ रहेको सहकारीमा शेयर सदस्यहरुले ७ करोड ११ लाख ६५ हजार ४७० बचत गरेका छन् ।
यसैगरी श्रमिकको १३ औं वार्षिक साधारण सभा अध्यक्ष मिनबहादुर प्रधानको सभाध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष पूर्व सांसद ललितकुमार बस्नेतको प्रमुख अतिथ्यतामा भएको थियो । सहकारीले आव २०७७÷०७८ मा १२ करोड ७९ लाख १० हजारको कारोबार गरेको छ । आफ्ना शेयर सदस्यलाई ९ करोड ४१ लाख ३२ हजार ४२६ कर्जा लगानी गर्दै ९ करोड ४४ लाख २१ हजार २६३ बचत निक्षेप राख्न सफल भएको छ । सहकारीमा १ हजार २ सय ४२ शेयर सदस्य छन् ।
दुई सहकारीबीच एकीकरण भएपछि सहकारीको नाम श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था नाम राखिएको छ । सहकारीको ११ सदस्यीय कार्यसमिति पुर्नगठनपनि गरिएको छ । श्रमिक सुरक्षित साकोसको अध्यक्षमा नवराज अर्याल चयन भएका छन् । उनी सुरक्षित सकोसका अध्यक्ष पनि थिए । यस्तै, उपाध्यक्षमा श्रमिकका उपाध्यक्ष टंकनाथ नेपाल, सचिवमा श्रमिककै सचिव अर्जुनप्रसाद ढुंगेल कायम भएका छन् । कोषाध्यक्ष सुरक्षित साकोसका कोषाध्यक्ष रहेका विरेन्द्र ढुंगाना भए । सदस्यहरु सुरक्षितबाट नवराज थपलिया, उदयनारायण श्रेष्ठ र राजन घिमिरे श्रमिकबाट नारायण अधिकारी, पूर्णकुमारी कार्की, गणेश कठायत र मणिप्रसाद पाठक चयन भएका छन् ।







