जेसीज गाउँ घोषणा गर्दै हेटौंडा लेडी जेसीज
हेटौंडा÷सामाजिक परोपकारका काममा क्रियाशिल हेटौंडा लेडी जेसीजले आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्दैछ ।लेडी जेसीजले हेटौंडा उपमहानगरपालिकाको एउटा गाउँलाई जेसीज गाउँ घोषणा गर्दै सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो । जेसीज अध्यक्ष प्रतिमा श्रेष्ठले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत १५ वटा विभिन्न गतिविधि हुने जानकारी दिइन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले ८ मंसिरदेखि १४ गतेसम्म कार्यक्रम गरिने बताइन् । आज बुधवार बिहान इन्दिरा बानियाँको संयोजकत्वमा लेडी जेसीज र महिला पत्रकार बीच फुटसल प्रतियोगिता हुने भएको छ ।
आजै स्व बासु प्रसाद पौडेल स्मृतिमा मनहरी गाउँपालिका–१ चकरीस्थित श्री प्राविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक पुजा बस्नेत लामाले बताइन् । आजै दिउँसो हेटौंडा–९ पाञ्चायन मन्दिरमा शिखा भट्टराईको संयोजकत्वमा घरेलु सेनिटरी प्याड बनाउने तालिम हुनेछ । ९ मंसिरमा हेटौंडा–१ चौकिटोलमा स्वागत बोर्ड स्थापना गरिने कार्यक्रमको संयोजक गरेकी अदिति पौडेलले बताइन् । हेटौंडा–४ मा मञ्जु मैनालीको संयोजकत्वमा महिला उद्यमशिलता सम्बन्धी तालिम हुने भएको छ ।
क्लब हेटौंडामा गर्न लागिएको विद्यालय स्तरीय वक्तृत्वकलाको संयोजन स्वस्तिका बाँनियाले गरेकी छन् । १० मंसिरमा दिव्य सेवा निकेतनमा पुष्पा केसीको संयोजनमा खाद्यन्न वितरण कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन ११ मंसिरमा क्लब हेटौंडामा संसीय बैठक प्रणाली तालिम, हेटौंडा–१ बाजो डाँडामा जेसीज गाउँ घोषणा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम रहेको जनाइएको । १२ मंसिरमा हेटौंडा–४ हुप्रचौर गेट अगाडि महिला स्लो स्कुटी प्रतियेगिता, हेटौंडा–४ कमल डाँडामा महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना तथा सेफ्टी ज्याकेट वितरण र उद्यमशिलता तालिम गरिने जनाइएको छ ।
कार्यक्रमको छैठौ दिन १३ मंसिरमा हेटौंडा–८ कमानेस्थित चन्द्रोदय माविमा महिला आत्मसुरक्षा तालिम, हेटौंडा–९ सिआन पुनःस्थापना केन्द्रमा लागू औषध न्युनिकरण सचेतना तथा हट वाटर डिष्पेसर वितरण कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक कविता पौडेलले जानकारी दिइन् । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन १४ मंसिरमा हेटौंडा–४ स्थित क्लब हेटौंडामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरणको कार्यक्रम रहेको पौडेलले बताएकी छन् ।







