उत्खनन्बाट गाउँपालिकाले उठायो थप सवा करोड राजश्व
हेटौंडा– मकवानपुरगढी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन्बाट थप सवा करोड राजश्व उठाएको छ । नदीजन्य पदार्थ उत्खनन् गर्दा थप २८ हजार घनमिटर नदीजन्य पदार्थ संकलन भएको पाइएपछि गाउँपालिकाले थप राजश्व पनि संकलन गर्न सफल भएको हो । स्वीकृत १ लाख ३५ हजार घन मिटरमा १ लाख ६३ हजार ८ सय ७४ घन मिटर नदिजन्य पदार्थ उत्खनन भएको थियो ।
सामरी खोलामा ज्याला– दारीका कामदार र स्वयमसेकको बदमासीका कारण नदीजन्य पदार्थ उत्खनन् बढी भएको पुष्टि भएको छ । सोही बढी उठेको नदीजन्य पदार्थ बिक्री गर्दा पालिकालाई राजश्व पनि बढी उठेको गाउँपालिकाका प्रवक्ता भागवत घिमिरेले जानकारी दिए । बढी उत्खनन् गरिएको नदीजन्य पदार्थको परिमाण २८ हजार ८ सय ६१ को हाल बिक्रि मुल्य उत्खनन्सहित १ करोड २२ लाख १८ हजार ५ सय ९२ रुपैयाँ गाउपालिकालाई थप राजस्व रकम प्राप्त हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिए । गाउँपालिका कार्यालयले बुधवार पत्रकार सम्मेलन गर्दै ज्यालादारी कर्मचारीको बदमासीले नदीजन्य पदार्थ बढी संकलन भएको जानकारी गराएको हो । सामरी खोलाबाट वर्षातको समयमा खोलाको सतह बढेर वस्तिमा खोला पस्ने जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको थियो ।
वस्ती जोगाउनका निम्ति उत्खनन् गरिएको नदीजन्य पदार्थ खोला क्षेत्रमै घाट गद्दी गरेर राखिएको थियो । उक्त घाट गद्दी गर्दा ज्यालादारी कर्मचारीले बढी उत्खनन् गरेको र यसलाई सबै राजनीतिक दल, पत्रकारहरुले चासो देखाएपछि गाउँपालिकाले कदम अगाडि बढाएको थियो । गाउँपालिकाका अनुसार नदीजन्य पदार्थ उत्खनन्मा खटिएका ज्यालादारीका कामदार र स्वयंम् सेवकले प्रतिटिपको आधारमा गाउँपालिकालाई हिसाब बुझाएको पाइएको छ । हिसाबमा उनीहरुले १ लाख ३५ हजार घनमिटर नदीजन्य पदार्थ रहेको भन्ने प्रतिवेदन दिएको प्रवक्ता घिमिरेले बताए ।
उक्त प्रतिवेदनकै आधारमा नदीजन्य पदार्थ बिक्री गर्दा नेपाली कांग्रेसले नदिजन्य पदार्थ उत्खनन परिमाणमा चित्त नबुझेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको घिमिरेले बताए । उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति र गाउँपालिकाको प्राविधिक टोलीले नापजाँच गर्दा स्वीकृत भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पत्ता लागेको थियो ।
गाउँपालिकाका प्रवक्ता भागवत घिमिरेले ६ नम्बर वडामै मात्रै घाट गद्दी गरिएको नदीजन्य पदार्थमा बढी उत्खनन् भएको पाइएको जानकारी दिए । उनका अनुसार ६ नम्बर वडा क्षेत्रमा पर्ने खोलामा उत्खनन्का लागि खटिएको ज्यालादारीका कर्मचारीले बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको थियो ।







