टावरडाँडामा करोडको खानेपानी आयोजना
हेटौंडा (रासस)- लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा एक करोड ६ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका छन् ।
जिल्ला समन्वय समितिको ६० लाख र सो गाउँपालिकाको ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । एक हजार ७ सय मिटर टाढाबाट लिफ्टिड्ड सिस्टमबाट टावरडाँडामा ल्याइएको पानी दुई लाख ४० हजारको ट्याड्ढीमा संकलन गरी खानेपानी स्थानीय २ सय १६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।
कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको सो क्षेत्रमा निर्माण भएको खानेपानी आयोजना महत्वपूर्ण भएको हुमागाईंको भनाइ छ । मकवानपुरगढी वडा नं ४ का स्थानीयबासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा सो खानेपानी ट्याड्ढीलगायत पूर्वाधारको निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिए ।







