एसपी गुरुङले सार्वजनिक गरे १७ बुँदे योजना

साझाकुरा
२०७८ मंसिर १६, बिहीबार ०९:३६

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले आफ्नो १७ बुँदे प्राथमिकताका योजनाहरु सार्वजनिक गरेका छन् ।  जिल्लामा सुरक्षा क्षेत्रमा काम गर्नका लागि उनले आफ्नो कार्यकालमा काम गर्ने योजनाको १७ बुँदे प्राथमिकता बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । प्रहरी प्रमुख भएर मकवानपुर रहँदा लागूऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु  मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्थालगायत १७ बुँदे प्राथमिकतामा रहेर काम गर्ने उनले बताए ।

जिल्लामा शान्ति सुरक्षालाई बलियो बनाउनका लागि आफ्नो १७ बुँदे कामलाई प्राथमिकतामा राख्न जरुरी देखिएको उनको भनाइ थियो । गुरुङको प्राथमिकतामा जिल्लामा घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, चौरी लुटपाट र कालोबजार नियन्त्रणदेखि प्रकृति स्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गर्ने समेटिएको छ । प्रकृति स्रोतको दोहन भईरहेको जानकारी पाएको अवस्थामा आवश्यक तुरुन्त कारबाही प्रकिया अगाडी बढाएर नियन्त्रणमा लिने बताए ।

उनले हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिइने बताए । उनले जिल्लामा लागूऔषध दुव्यसनी तथा ओसारपसार तथा कारोबारको समस्या रहेको बताउँदै नियन्त्रण र न्यूनीकरणको लागि आवश्यक कार्ययोजना तयार गरेर काम गरिने धारणा राखे । आफ्नो कार्यकालमा अदालतको फैसला कार्यवन्यन तथा फरार प्रतिवादी पक्राउमा जोड दिइने उनको योजनामा उल्लेख छ ।

एसपी गुरुङले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्वस्थापनसँगै जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने, जिल्लामा घरेलु हिंसा,लैड्डिक हिंसा, महिला, बालबालिका, जेष्ठ  नागरिक तथा असक्त व्यक्तिमाथि हुने अपराधमा कानूनी कठोरता र पीडित मैत्री वातावरणको सिर्जना गर्ने, सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयनमा जोड दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*