मकवानपुरगढीमा मतदाता नामावली संकलन

साझाकुरा
२०७८ मंसिर १८, शनिबार १३:२५

हेटौंडा-मतदाता नामावली संकलन विशेष कार्यक्रम मकवानपुरगढी गाउँपालिकामा सुरु भएको छ । १७ मंसिर शुक्रबारदेखि २ पुससम्म गाउँपालिकाले नयाँ मतदाता नामावली संकलन कार्यक्रम जारी राख्ने भएको छ । उमेर पुगेकाहरुको नयाँ मतदाता नामावली संकलन गाउँपालिका कार्यालयमा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

उनका अनुसार मतदाता नामावली संकलनका लागि गाउँपालिकाको केन्द्र मक्राञ्चुली स्थित पुरानो गाउँपालिका कार्यालयको भवन (हाल वडा कार्यालय)मा कार्यालय खडा गरिएको छ । गाउँपालिकाको ८ वटै वडालाई समयावधि तोकेर १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका तर मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम प्रविष्टी गराउन मतदाता नामवली संकलन कार्य सुरु गरेको हो । मतदाता नामावली संकलनको पहिलो दिन मंसिर १७ गते वडा नम्बर ३ का वडाबासीको मात्रै नामावली संकलन गरिने भएको छ । ३ नम्बर वडाका वडाबासीले मतदाता नामावली बनाउन बिहान ८ बजेदेखि ५ बजेसम्म कार्यालयमा पुग्नु पर्नेछ ।

मंसिर २० र २१ गते वडा नम्बर ५ तथा मंसिर २२ र २३ गते वडा नम्बर ६ का वडाबासीको मतदाता नामावली संकलन गरिने गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी, मंसिर २४ र २५ गते वडा नम्बर २, मंसिर २६ र २७ गते वडा नम्बर १ मा, मंसिर २८ र २९ गते वडा नम्बर ७ र पुस १ र २ गते वडा नम्बर ८ को लागि समय निर्धारण गरिएको छ ।

मतदाता नामावली प्रविष्ट गराउन आउने नागरिकले नेपाली नागरिकताको सक्कली प्रमाणपत्र र त्यसको फोटोकपी लिएर आउनु पर्नेछ । बसाईंसराइ गरी आएको हकमा बसाईंसराई सक्कलै र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा विबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिई आउनु पर्नेछ । मंसिर १८ र १९ गते वडा नम्बर ४ का वडाबासीको नामावली संकलन गरिने छ । तोकिएको दिन मतदाता नामावली संकलन गर्न आउनेका लागि सम्बन्धित वडामा गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने निर्णय
गरेको छ ।

बसले मक्राञ्चुली र पुनः वडासम्म पु¥याउने व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिए । उनका अनुसार १६ वर्ष उमेर पुगेकाले मतदाता नामावली संकलन कार्यक्रममा सहभागिता जनाउन पाउने र मतदाता परिचय पत्र भने १८ वर्ष पुगेपछि पाउने छन् ।  पुरानो मतदाताले कुनै कुरा सच्याउन परेमा जिल्ला प्रशासन वा निर्वाचन कार्यालय जानुपर्ने पुडासैनीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*