थप ७ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा-मकवानपुरमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
९ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा कोहिमा पनि संक्रमण नभएको तर, पिसिआर बिधिबाट गरिएको परीक्षण ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकावानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना छन् ।
मनहरी र भीमफेदी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ९७ जना पुगेको छ । जिल्लामा अहिले ५० जना कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित छन् । जसमध्ये ४७ जना होम आइसोलेसनमा र ३ जना संस्थागत आइसोलेसनमा उपचाररत् छन् ।
मकवानपुरमा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप १ लाख ८१ हजार ५ सय ३५ जनाले लगाइसकेका छन् । पूर्ण मात्राको खोप १ लाख ५७ हजार ९० जनाले लगाएको तथ्यांकमा उल्लेख छ । जिल्लामा यसै अवधिमा ४ जनाले कोरोनालाई जितेका छन् । होम आइसोलेसन बस्ने १ जना र संस्थागत आइसोलेसनमा उपचाररत् ३ जनाले कोरोनालाई जितेका हुन् । योसँगै जिल्लामा हालसम्म कोरोना जित्नेको कुल संख्या १५ हजार २ सय १९ जना पुगेका छन् ।







